खार्पुनाथमा उम्मेदार छनोटमा सकस ठुला दल पर्ख र हेरमा

हुम्ला– प्रमुख दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसहरूले आफ्नो उम्मेदवार छनोट गर्न प्रतिस्पर्धी पार्टीको निर्णय कुर्दा गाउँपालिका उपाध्यक्ष पदको उम्मेरदवार छनोटमा ढिलाई गरेका छन । खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षको रिक्त पदमा आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनको उम्मेदार छनौटमा नेपाल कम्युष्टि पार्टी नेकपा र नेपाली काँग्रेस एक अर्कामा बाटो कुर्दा ढिला भएको हो । तत्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एमाले बिचको एकताबाट बनेको नेकपाले तल्लो कमिटिले सिफारिस गरेको नाममा छलफल गरिहेका छन् । काँग्रेसको विद्यमान बर्चस्वमा विजय सुरु गर्न रणनीतिमा लागेको नेकपाले काँग्रेसका उम्मेदारको बाटो पर्खेको छ । गत सोमबार र मगलबारको जिल्ला कमिटि बैठकबाटै आफना पार्टीको उम्मेदार छनोटको एजेण्डा तय गरेपनि कार्याकर्ताले काँग्रेसको उम्मेदार अनुसार आफनो उम्मेदार तय गर्नुपर्ने सुझावबाट निर्णयबाट पछि हटेको छ ।
२०७४ वैशाख ३१ गते सम्पन्न निर्वाचनमा दोस्रो भएको तत्कालिन एमाले र तेस्रो भएको माओवादी केन्द्र मिलेर बनेको नेकपा जसरी पनि परिणाम आफूतिर पार्ने रणनीतिलाई उम्मेदवार छनोटदेखि नैं कार्यान्वयन गर्न चाहन्छ । हामी बिपक्षीको रणनीति र स्थानीय कार्यकर्ताको योगदानका बारेमा आन्तरिक छलफलमा जुटेकाले उम्मेरदवार छनोटमा केही ढिलाई भएजस्तो देखिएको हो ।’ नेकपा खार्पुनाथ इन्चार्ज रणसिंह परियारले भने, ‘अबको दुई दिनमा कुनै पनि हालतमा हामी उम्मेरदवारको टुङ्गो लगाउँछौं ।’
खार्पुनाथलाई आफ्नो पकेट क्षेत्र बनाएको कांग्रेसले आफ्ना दलको उम्मेरदवार छनोट गर्ने प्रस्तावलाई शुक्रबारदेखि पार्टी कमिटीमा प्रवेश गराएको छ । पार्टीका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशसभाका प्रमुख प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीको मताधिकार भएको गाउँपालिका भएकाले निर्वाचनलाई नेता शाहीसँगको प्रतिष्ठा कांग्रेसले बनाएको छ । कांग्रेस कुनै पनि मूल््यमा उपनिर्वाचनको परिणाम आफ्नो पक्षमा पार्ने दबाबमा छ ।
गाउँपालिकाका दीवंगत उपाध्यक्ष सिन्धु हमाल शाहीका आफन्तमा परेको पींडा र विगतका निर्वाचनमा मौका नपाएका पार्टीका नेता तथा कार्यकर्तालाई मिलाएर लैजाने समस्याबाट अघि बढेको कांग्रेस हुम्लाले आजबाट शुरु हुने गाउँपालिका केन्द्रित बैठकलाई उम्मेदवार छनोट अभियानका रुपमा लिएको छ । नेपाली कांग्रेस पार्टी सभापति जयपति रोकायसँग टेलिफोन गर्दा उहाँ छलफलमै भएको बताए ।

तीन र तीन जनाको चर्चा
मंसिर १४ गते हुने खार्पुनाथ गाउँपालिकाको उपनिर्वाचनमा नेकपा र नेपाली कांग्रेसमा तीन जनाको नाममा चर्चा चलेको छ । नेकपाको खार्पुनाथ गाउँकमिटीले गएको आइतबार रुपा शाही, महान्त्या छत्याल र पूर्णबहादुर रोकायाको नाम सिफारिस गरेको थियो ।
रुपा २०७४ को स्थानीयतहको निर्वाचनमा तत्कालिन एमालेकोतर्फबाट झिनो मतान्तरले पराजित उम्मेरदवार हुन । भने छत्याल र रोकाया तत्कालिन माओवादी केन्द्रबाट आकांक्षी हुन ।
यता नेपाली कांग्रेसमा पनि तीनै जनाको नाम चर्चामा छ । नेपाली कांग्रेस हुम्ला स्रोतका अनुसार तारा शाही, धीरबहादुर शाही र जयबहादुर शाही उपाध्यक्ष पदमा आकांक्षी देखिएका छन ।
धीरबहादुर दिवंगत सिन्धुका पति हुन भने तारा र जयबहादुर लामो समयदेखि पार्टीमा अवसर नपाएका कार्यकर्ताका रुपमा चिनिन्छन ।

नेकपामा रुपा, कांग्रेसमा ताराको सम्भावना
खार्पुनाथ गाउँपालिकाको उपनिर्वाचनमा नेकपाको तर्फबाट रुपा शाही र कांग्रेसबाट तारा शाही बलियो दावेदारका रुपमा देखिएका छन ।
२०७४ को निर्वाचनमा निकटम प्रतिद्वन्द्वी भएकी रुपालाई यस पटक पनि पार्टीको उम्मेरदवार बनाउन पार्टी उच्च तहमा छलफलभएको छ ।
पार्टीको उच्च स्रोत भन्छ, ‘खार्पुनाथजस्तो क्षेत्रमा रुपाले झिनो मतान्तरले पराजय व्यहोरेकाले पनि यो पटकको उम्मेरदवार उनैलाई बनाउनुपर्छ ।’ तत्कालिन दुई पार्टी एक भएर बनेको नेकपाभित्र धेरै आकांक्षी भएकाले शान्त पार्न तत्कालै निर्णय नगरे पनि अन्तिम उम्मेदवारका रुपमा रुपाकै नाममा निर्णय हुने एक नेताले ठोकुवा गरे ।
लामो समय पार्टीमा काम गरेको र एकै पार्टीबाट अध्यक्ष र उपाध्यक्ष मध्ये एकजना महिला हुनै पर्ने कानूनी व्यवस्थाले पनि कांग्रेसमा तारा शाहीको सम्भावना बढ्दै गएको छ । कांग्रेस स्रोत भन्छ, ताराको माइतीदेखि गाउँपालिकाका अधिकांश गाउँमा नातागोता बढी छन । स्थानीय चुनाव नाता गोता र आफन्तबाटै बढी प्रभावित हुने भएकाले तारा बलियो दाबेदारका रुपमा हेरिएकी छन ।
गत जेठ ३ गते सिमकोटबाट गाउँपालिकाको केन्द्र जाने क्रममा बोलेरो जिप कर्णाली नदीमा दुर्घटना हुँदा सो पालिकाका उपाध्यक्ष सिन्धु हमाल शाहीको निधन भएको थियो ।