हुम्ला राष्ट्रिय अभियानअन्तर्गत देशभरका बालबालिकाले १ र २ कात्तिकमा भिटामिन ‘ए’ र जुकाको औषधि खाए । तर, हुम्लाको खार्पुनाथ गाउँपालिका बालबालिका भने भिटामिन र जुकाको औषधि सेवनबाट वञ्चित भएका छन् ।
राष्ट्रिय अभियानअन्तर्गत देशभर ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि पाँच वर्षसम्मका बालबाकिालाई जुकाको औषधि खुवाइएको हो । यसका लागि संघीय सरकारले स्थानीय सरकारलाई नै जिम्मा दिएको थियो । तर, खार्पुनाथ गाउँपालिकाले यो कार्यक्रम सञ्चालन नगर्दा बालबालिका वञ्चित भएका हुन् ।
जिल्लाका अन्य स्थानीय तहमा भने कार्यक्रम सञ्चालन गरिएको थियो । खार्पुनाथ गाउँपालिका–२ थालीका दिनेश जेठाराले आफ्नो गाउँमा यो अभियान सञ्चालन नभएको बताए । ‘थाली गाउँमा दुई सयभन्दा बढी परिवार छन् । तर, कसैले पनि भिटामिन र जुकाको औषधि खान पाएनन्,’ जेठाराले भने ।
जिल्लाबाट भने सबै तहमा औषधि पठाइएको थियो । जिल्ला अस्पतालका डा. टर्सी लामाले सबै तहमा आवश्यक औषधि पठाएको बताए । खार्पुनाथ गाउँपालिकाले पनि औषधि बुझेर लगेको बताए ।
खापुनार्थ गाउँपालिका अध्यक्ष कर्ण रावलले भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन नसकिएको स्वीकार गरे । कर्मचारी नहुँदा खुवाउन नसकिएको उनको भनाइ छ । ‘कर्मचारी समायोजन गरिएयता गाउँपालिकामा कर्मचारी आएका छैनन् । जसले गर्दा भिटामिन र जुकाको औषधि खुवाउन समस्या भयो,’ अध्यक्ष रावलले भने ।
नरजन तामाङ । १३ कार्तिक २०७६, बुधबार २१:४०