वर्षदिनमा हुम्लामा नेपाल सरकारको मोटर गुडछ ः उपराष्ट्रपति पुन

हुम्ला,  उपराष्ट्रपति नन्दबहादुर पुनले दुर्गम हिमाली जिल्ला हुम्ला ढिलोमा एक वर्षभित्रै राष्ट्रिय सडक सञ्जालसँग जोडिने विश्वाश व्यक्त गरेका छन् । सिमकोटस्थित मानसरोवर नमूना माध्यमिक विद्यालयको नमूना भवन शिलान्यास गर्न हुम्ला पुगेका उपराष्ट्रपति पुनले उक्त विश्वाश व्यक्त गरेका हुन् ।

हुम्ला काठमाडौंबाट हेर्दा अति टाढा र दुर्गम देखिए पनि प्राकृतिक विविधता र सौन्दर्यका हिसाबले नेपालका अन्य स्थानभन्दा सयौंगुणा उत्तम भएको दाबी गरे । ‘उत्तरी छिमेकी राष्ट्र चीनका मोटर हाम्रो (हुम्ला) क्षेत्रमा गुडिरहेका छन्,’ उपराष्ट्रपति पुनले भने, ‘नेपाल सरकारको प्राथमिकतामा हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने काम उच्च प्राथमिकतामा परेको छ ।’

धार्मिक र सांस्कृतिकरूपले भरिपूर्ण हुम्लालाई संघीय र प्रदेश सरकारले विकासमा उच्च प्राथमिकता दिए सदियौंदेखि हुम्लीले पाएका दुःख र पीडाको अन्त्य हुनेमा उनले जोड दिए । मानसरोवर नमूना माध्यमिक विद्यालयको नमूना भवनको शिलान्यासको कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्न करिब ८० किलोमिटर बाँकी रहे पनि सबै तहका सरकारको तत्परताप्रति खुसी व्यक्त गरे । उनले कर्णाली प्रदेश सरकारले चीन र भारतसँग फास्ट ट्रयाक जोड्ने लक्ष्य पूरा गर्न देखाएको सक्रियताको प्रशंसा गरे ।

‘नेपाल भारत चीनसँग जोड्ने १३३ केभिए विद्युत् प्रसारण लाइनको पनि काम शुरू भइसकेको छ,’ उपराष्ट्रपति पुनले भने, ‘कर्णाली करिडोर र विद्युत्को प्रसारण लाइन विस्तारको योजनाले मात्रै हुम्ला र हुम्ली जनताको जीवनस्तरमा अकल्पनीय परिवर्तन आउने छ ।’ जिल्लाको विकासमा एकाकार भएर जान स्थानीय राजनीतिक दलहरूलाई आग्रह गरेका पुनले लामो बलिदानीले सिंहदरबारको सेवालाई गाउँका नागरिकको घरदैलोमा दिने संविधानको मर्मअनुसार काम गर्नुपर्नेमा जोड दिए । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरूसहित सिमकोट पुगेका उपराष्ट्रपति पुनले नेपाल–चीनको सीमा क्षेत्र हिल्सा र लिमीको हवाई अवलोकन गरेर शुक्रबारै जुम्ला फर्केका थिए ।