युद्धले जुर्मुराएको साहित्य

बालविवाह जस्तै बालापनमै आस्था बस्यो
बिना कसैको सिफारिसमा
बिना कसैको दबाब
न त कसैको प्रलोभन
आफैँलाई थाहा भएन
म कुनबेला कम्युनिस्ट भएँ
र राज्यका नजरमा भएछुँ
एउटा राज्यद्रोही ।

कविता संंग्रह ‘योद्धाको सपना’
देवकी तिमल्सिना ‘समीक्षा’

–––

२०५५ सालमा मलाई गिरफ्तार गरियो । २०५५ मंसिर ४ गते कीर्तिपुरबाट गिरफ्तार भएकी मलाई सुरुमा महेन्द्र पुलिस क्लबमा लिइयो । हामी धेरै साथीहरू थियौं । हामीलाई दिइने खानामा ढुंगा र चामल बराबर भएको हुन्थ्यो । कसरी खान सकिन्थ्यो त्यस्तो ? मैले खान सकिनँ् । हुत्ताइदिएँ । मैले हुत्ताएको खाना प्रहरीको मुखमा प¥यो । त्यसपछि मलाई प्रहरीको पहरामा छुट्टै राखियो ।

 

केही दिनपछि साथीहरूलाई थुनामुक्त गर्न थालियो । सबै आआफ्नो नाम कुरेर बसेका थियौं । एक–एक गरी नाम बोलाइन्थ्यो, पठाइन्थ्यो । म पनि नाम कुरेरै बसें । तर हामी केही साथीहरूलाई थुनामुक्त गर्नुको साटो केन्द्रीय कारागार पु¥याइयो । हामी चकित थियौं । जेलको वातावरण सोचेको भन्दा धेरै फरक थियो । तत्कालीन माओवादीकी नेतृ यशोदा सुवेदी दिदी पनि हाम्रो स्वागतमा बस्नुभएको थियो । जेलमा पनि स्वागत कार्यक्रम भएको देख्दा म आश्चर्य भएकी थिए ।
यशोदा दिदीले भन्नुभयो, ‘सबैभन्दा सानो मान्छे आउनुभयो । सानो मान्छेलाई पनि यहाँ स्वागत छ है ।’ मैले दिदीलाई भने, ‘दिदी जेलमा पनि स्वागत हुन्छ र ? कस्तो खालको हो ?’ केन्द्रीय कारागारको महिला सेलमा लगभग एक सय ५० को हाराहारीमा महिला बन्दीहरू थियौं । त्यो समयमा काभ्रेको ठूला दुर्लुङमा नेपाल प्रहरी र तत्कालीन शाही नेपाली सेनासँग जनमुक्ति सेनाको भिडन्त भएको थियो । प्रहरी चौकी कब्जा गर्न जाँदा भिडन्तमा पक्राउ परेका महिला दिदीबहिनीहरूलाई पनि हामीसँगै ल्याइएको थियो ।

उहाँकाहरूको अवस्था एकदम दयनीय थियो । करिब चार/पाँचजना महिला दिदीबहिनीहरू हुनुहुन्थ्यो । उहाँहरूको कथा दर्दनाक थियो । प्रहरी/सेनाद्वारा भिडन्तमा पक्राउ परेपछि उहाँहरूमाथि बलात्कार भएको थियो । शारीरिक तथा मानसिकरूपमा उहाँहरू छद्विच्छद् अवस्थामा हुनुहुन्थ्यो । उहाँहरूका छियाँछियाँ भएका कथाले मेरा आसु आफँै बगाउँथे । म चाहेर पनि रोक्न सक्थिनँ । उहाँहरूको अवस्थाले मलाई कम्युनिस्ट आन्दोलनमा थप प्रेरणा मिल्यो । त्यो अवस्थालाई देख्दा आन्दोलनमा समावेश भएकोमा आफूलाई थप प्रतिबद्ध भएको पाएँ । मेरा मार्गलाई सही दिशा भएको त्यो घटनाले बताउँथ्यो । यसै क्षणलाई स्मरण गर्दै ‘आस्था’ कविता कोरकी हुँ ।
–––
२०३८ साल असार २० गते सिन्धुपाल्चोक बलेफी गाउँपालिका–६, गैरी गाउँमा जेठी सन्तानको रूपमा मेरो जन्म भएको हो । हामी चार दिदीबहिनी हौं र, एउटा भाई छ । आमा मनमाया न्यौपाने र बुबा जीवनाथ न्यौपानेको कोषबाट मेरो जन्म भएको हो । म गृहयुद्धमा पूरै समय आबद्ध भएँ । बुबाकी प्यारी थिए म । मेरो जन्मलाई बुबा लक्षणको बताउँनुहुन्थ्यो । परिवर्तनको संज्ञा दिनुहुन्थ्यो । त्यसबेला माओवादीहरूको ‘सेल्टर’ हाम्रै घर बनेको थियो । घरको वातावरणले पनि मलाई आन्दोलनमा होमिन हौँसाएको हुनुपर्छ ।
मानिसहरू हाम्रा घरमा आउँथे । चेलीका विरहका गीत गाउँथे, भरियाका गीत गाउँथे । विषेशगरी तल्लो वर्गीय अधिकारको सवाल बोकेका गीतहरू मलाई धेरै मनपथ्र्यो । घरमा बुबासँग आएका उहाँहरूका गीत म सुनिरहन्थे । गीत सुन्दा–सुन्दै विचारभन्दा भावनात्मकरूपमा म संगठनमा आबद्ध भइसकेकी थिएँ । साहित्यमा रूची राख्ने म पार्टीमा जनकलाकारको रूपमा काम गर्न थाले ं। ‘डोके पत्रकारिता’ मा मेरो लामो समय बित्यो । आन्दोलनका बेला सञ्चालित रेडियो सेवा ‘पूर्वी प्रसारण सेवा’ मा समाचार वाचिकाका रूपमा काम गरें ।
–––
माओवादी आन्दोलनलाई गौरवको रूपमा हेर्ने गरेकी छुँ । मेरा लागि माओवादी आन्दोलन अवसर बनेर आएको थियो । परिवर्तनका लागि योगदानको अवसर । हामीले लक्ष्य, सिद्धान्त र विचारको कुरा सिंगो देशलाई बाड्यौं । सपना बाड्यौं । वर्तमान अवस्था हेर्नुपर्दा आन्दोलनको वास्तविक लक्ष्य पूरा भएको छैन । छात्तीमा हात राखेर घोत्लिन जरुरी छ । सबथोक त्यागेर लागेका जनमुक्ति सेना, कलाकार, पार्टीका व्यक्तित्वहरू सबैले मुक्ति पाएका छैनन् । अहिले सीमित व्यक्तिहरूले आन्दोलनको फाइदा उठाएका छन् । साथीहरू कोही मानसिकरूपमा रोगी भएका छन्, कोही घाइते । सहिद परिवार पनि त्यस्तै अवस्थामा छ ।

जनवादी क्रान्ति सम्पन्न गरेर देशमा गणतन्त्र स्थापना त भयो, तर नागरिकका लागि सहजरूपमा गाँसबास र कपासको उद्देश्य पूरा भएन । आंशिकरूपमा भयो । सबैलाई जोडेर ल्याउन सकेनौं । अबको नयाँ बाटो कसरी व्यवस्थित गर्ने भन्ने बारेमा सोच्नुपर्ने अवस्था आएको छ ।

प्रकाशित मितिः शनिबार, अशोज १८, २०७६     10:46:52 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *