जनाधिकार पूरा गर्न प्रदेश सरकार दृढ; मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकार संविधान प्रदत्त जनाधिकार पूरा गर्ने मार्गमा दृढताका साथ लागिपरेको दाबी गरेका छन् ।
संविधान दिवस, २०७६ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री शाहीले उक्त दाबी गरेका हुन् ।

‘नेपाली जनताले दशकौं लामो समयदेखि सशस्त्र तथा निशस्त्र रुपमा सञ्चालन गरेका बलिदानीपूर्ण संघर्षहरूको ऐतिहाँसिक उपलब्धिस्वरुप आजकै दिन संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो ।’ मुख्यमन्त्री शाहीले शुभकामना सन्देशमा भनेका छन्, ‘यो ऐतिहासिक दिनको सम्झनास्वरुप हरेक वर्ष असोज ३ लाई हामी सबै नेपालीले संविधान दिवसका साथै राष्ट्रिय दिवसका रुपमा समेत व्यापक हर्षोल्लाससहित विविध कार्यक्रम गरी भव्यताका साथ मनाउन सबैमा आग्रह गर्दछु ।’

संविधानको कार्यान्वयन तथा संघीय शासन प्रणालीको संस्थागत गर्दै संविधान प्रदत्त जनाधिकार पूरा गर्नुमा नै संविधान दिवस मनाउनुको सार्थकता रहनेमा जोड दिएका मुख्यमन्त्री शाहीले संरचना, कानुन, जनशक्तिको अभावका तथा अनुभवजन्य कमजोरीका बाबजुद छोटो अवधिमै कर्णाली प्रदेश सरकारले विकास, समृद्धि र सार्वजनिक सेवा प्रवाहको जग निर्माण गर्न सफल भएको शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
शुभकामना सन्देशमा शाहीले भनेका छन्, ‘सरकार बनेको यो डेढ वर्षको अवधिमा अत्यावश्यक कानुन तर्जुमा, प्रदेश सरकारको संगठन संरचना तर्जुमा एवं आवश्यक कार्यालयहरूको स्थापना, योजना आयोगको गठन, आपतकालीन उद्धार तथा राहत वितरण, सबै नागरिकको विपद् दुर्घटना बीमाको व्यवस्था जस्ता कामहरू सम्पन्न भएका छन् ।’