पहिरोले कर्णाली राजमार्गसँगै दैलेखका ग्रामीण सडक अवरुद्ध

पहिरोले कर्णाली राजमार्गसँगै दर्जनौ ग्रामीण सडक अवरुद्ध भएका छन् । जसले गर्दा यातायात ठप्प भएको छ । कर्णाली राजमार्गको कयौँ स्थानमा पहिरो खसेको छ । केही ठाउँमा पहिरोले सडक भासिएको छ । बुधबार बिहानैदेखि यातायात ठप्प भएको छ । यात्रु र सवारीसाधन बाटोमै रोकिएका छन् ।

कर्णाली राजमार्गअन्तर्गत गुराँस गाउँपालिका–१ स्थित सेतेभिरमा पहिरो गएको छ । त्यस्तै, गुराँस–४ स्थित लुहाखोलाको पहिरो पन्छाउन थालिएको छ । डोजरले पहिरो पन्छाइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी हरिबहादुर ओलीले बताए चार दिनदेखि लगातार भइरहेको वर्र्षाले दैलेखका दर्जनौँ ग्रामीण सडक पनि अवरुद्ध भएका छन् । दैलेख सदरमुकाम हुँदै नौमूलेसम्मको सडक बुधबार बिहानैदेखि अवरुद्ध भएको छ । तामेखोला नजिकको सेतो पहरामा पहिरो गएको र बाटो खुलाउने प्रयास गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाले बताए ।

त्यस्तै, भगवतीमाई गाउँपालिकासम्म पुग्ने सडक खण्डको केही स्थानमा पहिरो खसेको गाउँपालिका अध्यक्ष दानबहादुर थापाले बताए । उनका अनुसार, कालोपत्रे गरेको सडकसमेते उप्किएको छ । भगवतीमाई–५ को कट्टी देवल गाउँ नै पहिरोको जोखिममा रहेको अध्यक्ष थापाले बताए । जाजरकोट जोड्ने सडकको मनघरनजिकको खण्ड पहिरोले बगाएको छ । भैरवी गाउँपालिका हुँदै खम्बागाडेसम्म पुग्ने सडक पनि वर्षात्ले अवरुद्ध भएको गाउँपालिका अध्यक्ष प्रेम बुढाले बताए ।