कर्णालीमा भाइरल ज्वरोको प्रकोप

भाइरल ज्वरोले बालिकाको मृत्यु

हेमन्त केसी

जाजरकोट । भाइरल ज्वरोले कालिकोटको बारेकोट गाउँपालिका–६ टाँसीधुमाकी १४ वर्षीया आशा विकको मृत्यु भएको छ । सदरमुकाम खलंगामा बस्दै आएकी आशाको उपचारका क्रममै मृत्यु भएको हो । ज्वरो आउने, घाँटी, टाउको र हातखुट्टा दुख्नेलगायत समस्या देखिएपछि उनलाई एक साताअघि जिल्ला अस्पताल भर्ना गरिएको थियो । एक सातासम्म पनि सुधार नभएपछि अस्पतालले नेपालगन्ज रिफर गरेको थियो । सोमबार थप उपचारका लागि नेपालगन्ज लग्दै गर्दा बाटोमै मृत्यु भएको उनका आफन्त गणेश विकले बताए । आशा खलंगाको त्रिभुवन माध्यमिक विद्यालय कक्षा ८ मा अध्ययनरत थिइन् । उनका बाबुआमा मजदुरीका लागि पाँच वर्षदेखि भारतको हिमाञ्चलमा रहेका छन् ।

केही दिनयता जिल्ला अस्पताल र अन्य स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी बढेका छन् । जिल्ला अस्पतालमा दैनिक डेढ सय बिरामी आउने गरेकामा ५० प्रतिशत भाइरल ज्वरोका बिरामी रहेको डा.केशर कार्कीले बताए । बिरामी बढ्दै गएको, तर औषधिको सकिन लागेकाले समस्या हुन सक्ने उनको भनाइ छ । मौसम परिवर्तनको समय भएकाले खानपिनमा ध्यान दिन र बिरामी हुनेबितिक्कै नजिकको स्वास्थ्य संस्था जान स्वास्थ्यकर्मीले सुझाएका छन् ।

पश्चिमी रुकुममा पनि बिरामी बढे 
मनीष खड्का
रुकुम (पश्चिम) ।
 मौसम परिवर्तनसँगै पश्चिमी रुकुममा भाइरल ज्वरोका बिरामी बढेका छन् । जिल्ला अस्पताललगायत स्वास्थ्य संस्थामा उपचार गर्न समस्या हुन थालेको छ ।

सदरमुकामस्थित जिल्ला अस्पतालमा भाइरल ज्वरोको चाप बढेको छ । अहिले तीन सयको हाराहारीमा ज्वरोका बिरामी आउने गरेको जिल्ला अस्पताल प्रमुख डा. महेश चौलागाईंले बताए । ज्वरो आउने, टाउको दुख्ने, खाना खान मन नलाग्ने, रुघा, खोकी लाग्नेजस्ता लक्षण भएका बिरामी अस्पतालमा आउने गरेको डा. चौलागाईंले बताए ।

खानपिनमा ध्यान नदिँदा धेरै मानिसमा भाइरल ज्वरोको संक्रमण फैलिएको उनको भनाइ छ । मौसम परिवर्तनको समयमा विशेष ध्यान दिनुपर्ने बताउँदै उनले भने, ‘अलिकति पनि लापरबाही गरियो भने शरीरमा ज्वरोको संक्रमण फैलिन्छ ।’

आठबिसकोट नगरअस्पतालमा पनि भाइरल ज्वरोका बिरामी बढेका छन् । बिरामीको भीड लाग्ने गरेको नगरअस्पतालले जनाएको छ । दैनिक ५० देखि ६० जना बिरामी उपचारका लागि आउने गरेका छन् । केही सामान्य उपचारपछि फर्किने गरेको र केहीलाई अस्पतालमै राखेर उपचार गर्न थालेको छ । टाइफाइड र ज्वरोले बढी थलिएका बिरामीलाई अस्पतालमै भर्ना गर्न थालेको छ ।

अहिलेसम्म जिल्ला अस्पतालमा आएका बिरामी सामान्य खालकै रहेका स्वास्थ्यकर्मीले बताएका छन् । धेरैजसो आवश्यक औषधि चढाएपछि घर फर्किने गरेका छन् । विशेषगरी दूषित पानी र खानाबाट ज्वरोको संक्रमण फैलिने गरेको बताउँदै डा. चौलागाईंले भने, ‘उमालेको पानी मात्र खाने, ताजा र स्वच्छ खाना मात्र खाने, पानीमा नभिज्ने हो भने भाइरल ज्वरोबाट सजिलै बच्न सकिन्छ ।’ यो ज्वरोको समयावधि एक साता हुने भएकाले नआत्तिन उनको सुझाब छ