तीन महिना घर छाडेर बाजुराका महिला नुन किन्न चीनतिर

बाजुरा पाण्डुसेन–९ की पवित्रा थापा डेढ वर्षको छोरा बोकेर हुम्लाको रानीखर्क हुँदै चीनको ताक्लाकोट यात्रामा

 हुम्ला बाजुरा पाण्डुसेन गाउँपालिका–९ की २४ वर्षीया पवित्रा थापा डेढ वर्षको काखेबालकसहित हुम्लाको रानीखर्कमा भेटिइन् । उनको यात्रा चीनको ताक्लाकोट (भोट)सम्मका लागि रहेछ, नुन किन्नका लागि । श्रीमान् र केटाकेटीसहित जेठको पहिलो साता घरबाट हिँडेको पवित्राले सुनाइन् । हाल उनीहरू रानीखर्कमा जडीबुटी संकलन गर्दै छन् । अब, संकलित जडीबुटीसहित उनीहरू ताक्लाकोट पुग्छन्, बेचेर पैसा जम्मा गर्छन्, अनि त्यही पैसाले नुन र लत्ताकपडा किन्छन् ।

‘मेरो परिवार मात्रै होइन, गाउँका सबै घर अहिले खाली छन् । सबै भोट जानका लागि आएका छन् । घरका भेँडाबाख्रासमेत साथमा लिएर जडीबुटी खोज्दै नुन किन्न भोट जाने समय हो यो,’ पवित्राले सुनाइन् । बाजुराका दुर्गम क्षेत्रका नागरिक नुन किन्न भोट नै जान बाध्य छन् । अधिकांश घरका पुरुष रोजगारीका लागि भारत जाने भएकाले प्रायः महिला नै भोटका लागि निस्किन्छन् ।

उनीहरू भोट यात्राका लागि करिब तीन महिना घरबाहिर हुन्छन् । पाण्डुसेनकै ३५ वर्षीया धनकला कार्की पनि दुई छोराछोरी साथै लिएर भोटको यात्रामा छिन् । ‘गाउँमा कोही हुँदैनन्, केटाकेटीलाई घरमै छाडेर आउने कुरा भएन, त्यसैले साथै ल्याएको,’ धनकलाले भनिन्, ‘केही जडीबुटी खनुँला र त्यही पैसा लिएर भोटबाट नुन र लुगाकपडा किनौँला भनेर आएको ।’

दुई–तीन महिनासम्म घर छाडेर भोटतिर लाग्नेमा अधिकांश जनजाति महिला छन् । उनीहरूले एक महिना त हुम्लाको रानीखर्कमै जडीबुटी खोजेर बिताएका छन् । जटामसी, कटुकी, यार्सागुम्बालगायत जडीबुटी संकलन गरेका छन् ।

 बाटोमै सुत्केरी
तीन महिना घरबाहिर रहँदा कतिपय महिला बाटैमा सुत्केरीसमेत हुन्छन् । हरेक वर्ष भोट लाग्ने क्रममा बाटैमा कोही न कोही सुत्केरी हुने गरेको धनकला कार्कीले बताइन् । तर, बाटैमा बच्चा जन्मिए पनि ताक्लाकोट पुगेरै फर्किने गरेको सुनाइन् । हुम्लाको नाम्खा गाउँपालिका–३ का वडाध्यक्ष छपाल लामाले नुन किन्न भोट जाने क्रममा बाजुराका महिलाहरू बाटैमा सुत्केरी हुने गरेको कैयौँपटक देखेको बताए ।