महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले छवि र सिल्पालाई प्रहरीले खोजी गरिरहेको बताए । उनले भने, ‘उनीहरूविरुद्ध बहुविवाहको मुद्दा दर्ता भयो । मुद्दा दर्ता हुनु भनेको अनुसन्धानको बाटो खुल्नु हो । यस क्रममा दुवैलाई पक्राउ गर्नुपर्ने हुन्छ । अदालतले पक्राउका लागि अनुमति दिइसकेको छ । हामीले दुवैलाई खोजी गरिरहेका छौँ । तर, पक्राउ गर्न भने सकिएको छैन ।’
प्रहरीका अनुसार ५६ वर्षीय छवि र २६ वर्षीया शिल्पाबीच ०७३ को असारमा विवाह भएको थियो । तर, कानुनी रूपमा विवाह दर्ता भने ६ महिनाअघि मात्रै भएको थियो । सोही आधारमा छविकी जेठी श्रीमती हेमाले दुईविरुद्ध बहुविवाहको मुद्दा हालेकी थिइन् । प्रहरी परिसर काठमाडौंअन्तर्गतको कालिमाटीस्थित महिला सेलबाट उनीहरूविरुद्धको मुद्दामा अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार छवि र हेमाबीच ०४१ मा विवाह भएको थियो ।
नेपाली चलचित्रकी तत्कालीन नायिका गिताञ्जली सुनुवारसँग सम्बन्ध झाँगिएपछि हेमा छविबाट टढिएकी थिइन् । सुनसरी धरान–१ मा एक्लै बस्दै आएकी ५३ वर्षीया हेमाले वैवाहिक जीवनको ३५ वर्षपछि मात्रै छविविरुद्ध बहुविवाहको मुद्दा हालेकी हुन् । गीताञ्जलीले आत्महत्या गरेपछि छवि रेखा थापासँग नजिकिए । १२ वर्षसम्म लिभिङ इन रिलेसनसिपमा रहेका छवि र रेखाको सम्बन्ध टुंगिसकेको छ ।
के छ कानुनी व्यवस्था ?
मुलुकी अपराध संहिता–०७४ को विवाहसम्बन्धी महलको धारा १७५ ले बहुविवाहलाई बन्देज लगाएको छ । धारा १७५ को उपधार १ र २ मा वैवाहिक सम्बन्ध कायम भएको अवस्थामा कुनै पनि पुरुषले अर्को विवाह गर्न पाउँदैन । विवाहित भएको जान्दाजान्दै महिलाले पनि पुरुषसँग विवाह गर्न पाउँदिनन् । कसैले उपधार १ र २ उलंघन गरेको प्रमाणित भए विवाह गर्ने र गराउने दुवैलाई एक वर्षदेखि पाँच वर्षसम्मकौ कैद सजाय र दश हजार रुपैयाँ जरिवाना हुनेछ । नयाँ पत्रिकाबाट साभार
कर्णाली रैवार संवाददाता । ९ श्रावण २०७६, बिहीबार ११:५०