ढुवानी समस्याले कर्णालीमा खाद्यान्न अभाव सुरु भएको छ । ४ महिनादेखि कर्णालीका हुम्ला डोल्पा र मुगुलगायतका जिल्लामा चामल अभाव हुदै गएको छ । सडक सञ्जालले नछोएको हुम्ला र डोल्पा जिल्लाका ग्रामिण भेगमा नेपाल खाद्य संस्थानको चामल पुग्न नसकेपछि अभाव भएको हो ।
डोल्पा जिल्लाको लिकु, सहरतारा, काईगाँउ र तिन्जेका खाद्यान्न डिपोमा चामल सकिएपछि उपभोक्ताले दुई महिनादेखि किन्न पाएका छैनन् । समस्या डोल्पामा मात्रै नभएर हुम्लाको सर्केगार्ड, श्रीनगर र देउलीका डिपामो पनि चामल नभएको स्थानीय बताउँछन् ।
गत वर्ष मंसिरमा एक पटकमात्र बिक्रि गरेको र अरु चामल नआएको चंखेली गाउँपालिका १ का वडा अध्यक्ष नन्दबहादुर बोहोराले बताए । मुगुको स्थलमार्गबाट ढुवानी भएको नेपाल खाद्य संस्थानको चामल १ नम्बर वडामा झार्न आग्रह गर्दा ठेकेदारले नमानेको बोहोराले बताए ।
संस्थानको २ डिपो र ३ वटा बिक्रि केन्द्र खाली रहँदा साविकका ११ गाउँ विकास समितिका नागरिकहरुले अनुदानको चामल पाउन सकेका छैनन् । डिपोमा चामल नभएपछि ४ वटा बिक्रि केन्द्र ४ महिनादेखि बन्द रहेको छ ।
मुगुको सदरमुकाम गमगडीमा भने खाद्य संस्थानको चामल महंगोमा किन्न स्थानीय बाध्य छन् । सडक अवरुद्ध भएपछि खाद्यन्न ढुवानीको लागि गाडीहरु गमगडी पुग्न नसक्दा व्यापारीले जसोतसो ल्याएको चामल लिन उपभोक्ताको तानतान हुने गरेको छ । गमगडी नाग्मा सडक खण्ड जेठको अन्तिम सातादेखि पटक पटक अवरुद्ध हुँदै आएको छ ।
सदरमुकाममा मौज्दात, गाउँमा चरम अभाव
डोल्पाको सदरमुकाम दुनैमा करिव २२ सय क्विन्टल चामल मौज्दात छ । तर माथिल्लो डोल्पाका नागरिकले चार महिनादेखि अनुदानको चामलसमेत पाएका छैनन् । रसुवाको केरुङ नाका बन्द हुँदा बुद्ध, शे–फोक्सुण्डो र छार्काताङसोङ गाउँपालिकामा चामलको चरम अभाव छ ।
नेपाल खाद्य संस्थान शाखा डोल्पाका कमलराज पाण्डेले उक्त क्षेत्रमा चामल पु¥याउन नसकिने बताउँछन् । ‘माथिल्लो डोल्पामा चाइनाहुँदै चामल आउँछ ,’ पाण्डेले भने ‘सडक नहुँदा सदरमुकामबाट खाद्यन्न पु¥याउन सम्भव छैन ।’ विगतका केही वर्षदेखि केन्द्रले माथिल्लो डोल्पामा रसुवागढी नाकाबाट अनुदानको चामल पठाउँदै आएको छ ।
हुम्लाको सदरमुकाम सिमिकोटमा पनि दुई सय ६८ क्विन्टल चामल मौज्दात छ । तर सर्केगाड, श्रीनगर र देउलीका डिपो दुई महिनाअघिनै रित्तिसकेका छन् । खाद्य संस्थान हुम्लाका प्रमुख रामबहादुर विष्टका अनुसार मौन्दात चामल दशंै र तिहारमा सदरमुकाममा बाड्ने तयारी छ ।
मुगुको सदरमुकाममा गमगढी खाद्यन्न संस्थानमा ३ सय २३ क्विन्टल चामल मौजाद छ । सबै डिपो र बिक्री केन्द्र खाली हुँदा पनि त्यहाँ चामल पुगेको छैन् ।
खाद्य संस्थान मुगुका प्रमुख भरत खनियाका अनुसार महगीका कारण उपभोक्ताले खरिद गर्न छोडेपछि गाउँमा चामल नपठाएको हो । गमगढी खाद्य संस्थानमा ३ सय २३ क्विन्टल चामल रहदाँपनि चामल नपठाएको उनले बताए ।
सुर्खेतमा रहेको चामल अभावग्रस्त क्षेत्रमा पठाउन कुनै पहल भएको छैन । ‘हामीसँग २२ हजार क्विन्टल चामल छ,’ नेपाल खाद्य संस्थान सुर्खेत शाखाका निमित्त प्रमुख जीवननाथ कंडेल भन्छन, ‘हामीसँग २२ हजार क्विन्टल चामल छ र हामी जतिबेलापनि पठाउन तयार छौ तर कतैबाट पनि पत्र आएको छैन् ।’
मुगु र डोल्पामा जापानी चामल ‘अस्विकार’
नेपाल सरकारले अनुदान स्वरुप दिदै आएको चामलको चरम अभाव हुँदा पनि कर्णालीका नागरिकहरुले जापानी चामल अस्विकार गरेका छन् । नेपाल खाद्य संस्थानसँग तीन सय २३ क्विन्टल चामल रहेको छ तर चार महिनामा उपभोत्ता खरिद गर्न नआएको मुगुका प्रमुख भरत खनियाले बताए । जापानी चामलको मूल्य बजारको अन्य चामलको मूल्य भन्दा प्रतिकेजी ५ देखि १५ रुपैयाँसम्म महंगो हुँदा उपभोक्ताले किन्न छोडेको खनियाको भनाई छ ।
डोल्पामा पनि संस्थानले बिक्रि गदै आएको अनुदानको जापानीज चामल उपभोक्ताले अस्विकार गरेका छन् । गत वर्ष १ हजार ८ सय ६९ क्विन्टल जापानीज चामल लगिएकोमा पाँच सय ५६ क्विन्टल ४९ किलो मात्रै खपत भएको पाइएको छ । खाद्य संस्थान डोल्पामा १३ सय क्विन्टल जापानीज चामल मौज्दात रहेको छ ।
त्यस्तै जुम्ला र कालिकोटमा भने जापानी चामल एक केजीसमेत बिक्री हुन सकेको छैन । एक सय क्विन्टल ५० केजी जापानी चामल गोदममै थन्किएको नेपाल खाद्य संस्थान जुम्लाका प्रमुख घनश्याम अर्यालले बताए । कालिकोटमा आर्थिक वर्ष २०७४÷०७५ मा एक सय २३ क्विन्टल जापानीज चामल आएकोमा हालसम्म एक केजी पनि बिक्री नभएको खाद्य संस्थान कालिकोटका प्रमुख निर्मल थापाले बताए ।
डोल्पा र हुम्लामा दशैंमा पनि चामल समस्या
कर्णालीका उच्च हिमाली भेग हुम्ला र डोल्पाका अधिकांश ठाँउमा खेतियोग्य जमिन नुहँदा खाद्यन्नको समस्या हुने गरेको छ । खाद्य संस्थान र ठेकेदारले चामल समयमा ढुवानी गर्न नसक्दा प्रत्येक वर्ष हुम्ला र डोल्पामा चामलको समस्या हुने गरेको हो । दशैं तिहारलाई लक्षित गरि केन्द्रले पठाएको चामल मथिल्लो डोल्पामा मंसिरपछि मात्रै पुग्ने गरेको स्थानीय बताउँछन् ।
संस्थानका डोल्पा प्रमुख कमलराज पाण्डेले रसुवागडी नाका बन्द रहेको कारण डोल्पामा भन्ने वितिकै चामल पठाउन सम्भव नभएको बताउँछन् । डोल्पाका सबै डिपोमा घोडा र खच्चडले खाद्यान्न ढुवानी गर्दै आएको छ ।
सदरमुकामसम्म चामल आएपछि सडक अवरुद्ध नभए हप्तादिनमै चामल ढुवानी गर्न सम्भव रहेको मुगुका संस्थान प्रमुख भरत खनियाले बताए । माथिल्लो डोल्पामा वर्षमा एक पटक मात्रै खाद्य संस्थानको चामल पुग्ने गरेको छ ।
ठेकेदारको मनपरी ०७४/७५को डेढसय क्विन्टल चामल पुगेन
ठेकेदारको लापरवाहीले गर्दा माथिल्लो डोल्पा र हुम्लामा गत वर्षपनि खाद्यान्न पुगेन । हुम्लाको सर्केगाड डिपोमा आर्थिक वर्ष २०७४÷०७५ को लागि आएको झण्डै डेढसय क्विन्टल चालम अझै त्यहाँ पुगेको छैन । संस्थानका डोल्पा प्रमुख कलराज पाण्डले केरुङ नाका खुल्ने बित्तिकै माथिल्लो डोल्पामा खाद्यन्न पुग्ने बताउँछन । तिब्बत सरकारले रसुवाको केरुङ नाका खोल्न ढिलाइ गर्दा ढुवानीमा समस्या भएको उनको तर्क छ ।
नेता र सरकारले भोकभोकै मार्ने खोजेको गुनासो
मुगुका उपभोक्ताहरुले नेता र सरकारले भोकभोकै मार्न खोजेको अरोप लगाएका छन् । ‘हामीलाई पुग्नेगरी कहिलै खाद्यन्न आउँदैनन ’ छायाँनाथ रारा नगरपालिका–१० मुगुका उपभोक्ता कर्णसिंह बुढाले भने, ‘वर्षेनी नेता र सरकार मन्त्रीलाई खाद्यान्नको समस्या राख्दा पनि कसैले वास्ता गरेनन ।’
‘सवालाख क्विन्टल खाद्यन्न आवश्यक’
नेपाल खाद्य संस्थानका प्रवत्ता शंकर सापकोटाले कर्णालीका लागि झण्डै सवालाख क्विन्टल खाद्यन्न आवश्यक पर्ने बताए । प्रदेश सरकारको तथ्याङ्कअनुसार कर्णालीमा झण्डै १८ हजार मेट्रिक टन भन्दा बढी खाद्यान्न अपुग भएको देखिन्छ ।
कर्णालीका १० जिल्ला मध्ये रुकुम, सल्यान र सुर्खेतबाहेक अन्य सातवटै जिल्लामा वार्षीक खाद्यन्न अपुग हुने गरेको छ । गतवर्षमै दैलेखमा एक हजार पाँच सय ३०, डोल्पामा दुई हजार ६ सय ६६, जाजरकोमा तीन हजार पाँच सय ९४, जुम्लामा चार हजार एक सय ६६, मुगुमा पाँच हजार एक सय दुई र हुम्लामा आठ हजार चार सय १५ मेट्रिक टन खाद्यान्न अपुग भयो ।
प्रदेश सरकारले हारगुहार गर्नमा सिमित
प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले अभावग्रस्त ठाउँमा खाद्यन्न पु¥याउने जिम्मा प्रदेश सरकारको मातहतमा नरहेको बताए । उनले भने ‘हामीले हारगुहार मात्रै गर्ने हो ।’‘तत्काल कर्णालीमा खाद्यन्न पु¥याउन आपुर्ति मन्त्रालय र खाद्यन्न संस्थानलाई आग्रह गरेका छौँ Naya patrika
कर्णाली रैवार संवाददाता । १९ कार्तिक २०७५, सोमबार १७:५२