छात्रछात्राद्वारा बालविवाह नगर्ने सामूहिक प्रतिवद्धता

कार्तिक, १९ ।  माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुले बालविवाह नगर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । खार्पुनाथ गाउँपालिकाका माध्यमिक विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरुले साे प्रतिवद्धता जनाएका हुन् ।

सामाजिक मान्यताका कारण  बालविवाह गर्न बाध्य हुँदै आएकाेमा पछिल्लो समय चेतनामूलक जानकारी पाउँदा किशाेरकिशाेरीहरूले बाल विवाह नगर्ने प्रतिबद्धता जनाएकाे खार्पुनाथ गाउँपालिका मालिका मावि लालिकी छात्रा सबिना शाहीले बताइन् ।

जानकारी नै नभएर यो भन्दा अघि धेरै दिदी बहिनीको कलिलाे उमेरमा ज्यानसमेत गएको बताउँदै आफ्ना सुझाब राख्ने क्रममा शाहीले ती सबै रुढीवादी मान्यतालाई सबै मिलेर हटाउनु पर्ने उनकाे सुझाव छ ।

रजस्वला नभएकी कुमारी केटी विवाह गर्न पाए समाजले सकारात्मक रुपमा लिने मान्यताले हुम्लामा बाल विवाहले बढावा पाएको बताउँदै हुम्ला माविमा कक्षा १० मा अध्ययनरत छात्र तीर्थ रोकायाले यी सबै कुसंकारहरु हटाउन आफुले भुमिका खेल्ने बताए । बाल विवाहले गर्दा धेरै किशोरीहरुले अकालमा ज्यान गुमाउनु परेको बताउदै रोकायाले समाजले सृजना गरेको कुरिती अन्त्यका लागि अब बाल विवाहलाई पूर्ण रुपमा निर्मुल गर्नु पर्ने बताए।

जमाना नयाँ आएको भए पनि बालविवाहलाई शिक्षित परिवारका सदस्यले पनि स्वीकार गरेको देख्दा अचम्म लाग्ने बताउँदै सीता माविका कक्षा ९मा अध्ययनरत छात्रा सदीक्षा रोकायाले सबै विद्यार्थी र अभिभावकलाई त्यस विरुद्ध पैरवी गर्न आग्रह गरिन् । आफ्नै अगाडी १४ वर्षको उमेरमा बालविवाह गरेर ज्यान गुमाएकी दिदीको सम्झना गर्दै रोकायाले यो जघन्य अपराधलाई सबैले तिरस्कार गर्नु पर्ने बतटाइन् ।

बालविवाहले एकातिर आमाको स्वास्थ्य कमजोर हुने तथा रोगी बन्ने र उमेर नपुगेकि किशोरीबाट जन्मेका बालबालिका पनि कुपोषित हुने उनले बताइन् । गुड नेर्भस इन्टरनेशनल नेपालको आर्थिक सहयोग र किडार्क हुम्लाको आयोजनामा संचालित कचहरी कार्यक्रममा मान्धारा मावि, मालिका मावि, सीता मावि र हुम्ला माविका १५ जना छात्राछात्रहरुले सहभागिता जनाएका थिए । ती छात्राछात्र मध्ये एक जना छात्रा र एक जना छात्रले काठमाडौंमा हुने राष्ट्रिय स्तरको कचहरी कार्यक्रममा सहभागिता जनाउने किर्डाक हुम्लाका शिक्षा कार्यक्रमका निमित्त जिल्ला संयोजक भरत बोहोराले जानकारी दिए ।