डोल्पा पहिरोमा बेपत्ता ११ जना अझै भेटिएनन्, दुई मृत फेला

काठमाडौं :डोल्पाको मुड्केचोला गाउँपालिका–१ मा कासला खोलाले घर बगाउँदा बेपत्ता भएका ११ जना अझै फेला परेका छैनन् । अन्य दुईजनाको भने शव फेला परेको छ ।

कर्णाली प्रदेशका प्रहरी प्रमुख डीआईजी पूर्णचन्द्र जोशीका अनुसार मुड्केचोला गाउँपालिका–१ का ३८ वर्षीय धर्मराज बोहरा र मुड्केचोला गाउँपालिका–२ की ४५ वर्षीय चन्द्रकला शार्की मृत अवस्थामा भेटिएका छन् । उनीहरु पनि शनिबार पहिरोमा परी बेपत्ता भएका थिए ।

डीआईजी जोशीका अनुसार पहिरोमा परी बेपत्ता हुनेमा मुड्केचोला १ का धनरुपा बोहोरा, सरिका बोहोरा, वृहस्पति बोहोरा, सुना सार्की, पञ्चे सार्की, साउनी बिकलगायत ११ जना अझै बेपत्ता छन् । अन्य बेपत्ताहरुको नाम खुल्न सकेको छैन । डीआईजी जोशीका अनुसार पहिरोमा परी तीनवटा घर बगेका छन् भने पानीघट्ट समेत बगेका छन् ।

बेपत्ताहरुको खोजी कार्य जारी रहेको र घटनास्थल विकट क्षेत्र भएकाले सम्पूर्ण विवरण अझै आइनसकेको उनले बताए । (१२ खरी बाट)