हुम्लाका महिला महिनावारी हुँदा ओडारमा बस्न बाध्य

हुम्लाकाे खार्पुनाथ गाउँपालिका – ३ कारङग गाउँकी चन्द्रकला शाही महिनावारी भएको बेलामा गाउँ नजिकैको ओडारमा बस्ने गरेकी छिन्। ढोका नभएको जमिनको चिसो ओडारमा एक्लै बस्नुपर्ने भएकोले उनले आफुसँग ७ वर्षकी छोरीलाई सँगै राख्ने गरेकी छिन् ।

केही समय अगाडि गैहसरकारी संस्थाहरुले छाउगोठ भत्काउने अभियान स्वरुप कारङगा गाउँका छाउगोठहरु भत्काएको थियो । तर गाउँका अधिकांश महिलाहरु अझैपनि छाउ गोठ र ओडारमा बस्न बाध्य छन् ।

त्यस्तै, खापुनार्थ गाउँपालिका—१ प्युस गाउँकी राजु शाही घरमा बसे देउता लाग्ने डरले एउटा छाउगोठमा १० देखि १५ जनासम्म बस्न बाध्य भएको बताउँछिन् ।

छाउपडी बार्नु हुदैन भनेर स्वास्थ्य सम्बन्धि ज्ञान दिने रुद्रबीर शाहीले आफनो श्रीमती राजु शाहीलाई छाउगोठमा राख्ने गरेका छन् । रुद्रबीर शाही खार्पुनाथ गाउँपालिकाका स्वास्थ्य संयोजकको रुपमा काम गदै आएका छन् ।

ओडारको चिसोले महिलाहरुमा निमोनिया, शरीर सुन्नीने जस्तो समस्या हुने गरेको छ । घरको जगसम्म पनि छुन नहुने, छोइएमा कुष्ठरोग लाग्ने महिलाहरुमा अन्धविश्वास रहेको छ ।

हुम्लामा विभिन्न सरकारी तथा गैहसरकारी संस्थाहरुले छाउपडी प्रथा सम्बन्धि सिमकोटमा तालिम, गोष्ठी, सेमिनार सञ्चालन गरेपनि त्यसको सकारात्मक प्रभाव पर्न सकेको छैन् ।