लिमी सांस्कृतिक तथा पर्यटन महोत्सव

हुम्लाको उत्तरी नाम्खा गाउँपालिकालाई पर्यटन र व्यापारिक केन्द्रको रूपमा विकास गर्न महोत्सव आयोजना गरिएको छ । सडक सञ्जाल नछोएको र सुन्दर बस्ती नाम्खा गाउँपालिका ६ को हल्जी गाउँमा आयोजित महोत्सवमा स्थानीय कला, संस्कृति र उत्पादन प्रदर्शन गरिएको थियो ।

हुम्लाको लिमी उपत्यकामा पर्यटनको सम्भावना रहेकाले यसको पहिचान बदल्ने योजनामा प्रदेश सरकार रहेको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए । कर्णाली प्रदेश विकट नभई सुन्दर भूमि भएको उनले बताए ।
सरकारले विगतमा कारबाहीस्वरूप कर्मचारीलाई यहाँ पठाउने गरेको भए पनि आगामी वर्षमा कर्णालीमा आउनका लागि कर्मचारीको हानथाप हुने दाबी मुख्यमन्त्री शाहीले गरे । सञ्चारको विकासका लागि सरकार लागिपर्ने सामाजिक विकासमन्त्री दलबहादुर रावलले बताए ।
पर्यटन र जडीबुटीको विकास गर्न सकिएमा कर्णाली प्रदेश सम्पन्न हुने उनको भनाइ छ । आन्तरिक र बाह्य पर्यटक भित्र्याउनमा हुम्ला जिल्ला अगाडि भएको कर्णाली प्रदेशका उद्योग वन तथा पर्यटनमन्त्री नन्दसिंह बुढाले बताए ।
मानसरोवर कैलाश दर्शन
लिमी उपत्यकाबाट मानसरोवर कैलाश दर्शनका लागि सडक सञ्जाललगायत पूर्वाधार तयार गरेर लाभ लिनुपर्ने संघीय सांसद छक्कबहादुर लामाले बताए । विविध कला, संस्कार, संस्कृति र लोकसंस्कृतिको धनी मात्रै नभएर जैविक विविधता भएको गाउँपालिका भएकाले प्रचारप्रसारमा गाउँपालिका लागिपरेको अध्यक्ष विष्णु लामाले बताए । महोत्सवमा स्थानीय हस्तकलाका उत्पादन, चालचलन र वेशभूषासमेत प्रदर्शन गरिएको थियो ।