काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ । उद्योग-कलकारखाना बन्द छन् । शैक्षिक संस्था र बजार पनि खुलेका छैनन् ।
बन्दको अवज्ञा गरेको भन्दै सुर्खेतमा एउटा यात्रुबहाक सबमा आगजनी गरिएको छ । प्रहरीका अनुसार गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना २ ख ७४४४ नम्बरको बसमा बिहानै आगजनी भएको हो । आगजनीबाट बस पूर्णरुपमा जलेर क्षतिग्रस्त भएको सुर्खेत प्रहरीले जनाएको छ ।
त्यसैगरी विहानै मकवानपुरको चौकी टोल र खानीगाउँमा दुई ट्रकमा आगजनी भएको छ । बन्दको अवज्ञा गरेको भन्दै नेकपाका कार्यकर्ताहरुले हेटौंडा-१ चौकीटोलमा र थाहा नगरपालिका- १ खानीगाउँमा ट्रकमा आगजनी गरेको बताइएको छ ।
त्रिभुवन राजपथ अन्तर्गत हेटौंडाको चौकीटोलमा ना ७ ख ९४९३ नम्बरको मिनी ट्रकमा आगजनी भएको कमवानपुर प्रहरीले जनाएको छ । प्रहरी चौकी नजिकै भएको आगजनीबाट ट्रममा क्षति पुगेको छ । यसैगरी हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ८००७ नम्बरको एउटा खाली ट्रकमा पनि आगजनी भएको छ ।
यसैगरी नवलपुरको अरुणखोला पुल नजिकै लु २ ख १०८ नम्बरको ट्रकमा पेट्रोल बम प्रहार भएको छ । पेट्रोल बमबाट चालक घाइते भएका छन् ।
राजधानीसहित देशका विभिन्न जिल्लाहरुमा बम फेला परेका छन् । भक्तपुर, पोखरा, धादिङ, मकवानपुर,नवलपुर, मोरङ, रौतहट, अर्घाखाँची, बागलुङसहित विाभिन्न जिल्लाहरुमा बम फेला परेका समाचार आइरहेका छन् ।
भक्तपुरको च्यामासिंहस्थित मालपोत कार्यालय नजिक सोमबार बिहानै बम फेला परेको थियो । सेनाको टोलीले उक्त बम निष्कृय पारेको छ । सोमबार बिहान पौने करिब तीन बजेतिर प्रहरीको मोबाइल गस्ती टोलीले सेतो झोलामा शंकास्पद बस्तु फेला पारेको थियो ।
उता मोरङको सुन्दरहरैंचा ७ ठडिया चोक नजिकै प्रेसर कुकर बम फेला परेको बताइएको छ । सेनाको टोलीले बम सेनाको टोलीले निष्कृय पारेको छ ।
कमवानपुरको हेटौंडा बजारको मुख्य चोक बुद्धचोक नजिक प्रेसर कुकर बम फेला परेको छ । नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।
यस्तैै पूर्वपश्चिम राजमार्गको हेटौंडा-९ पशुपतिनगरमा ‘खतरा’ लेखिएका शंकास्पद वस्तुु पनि फेला परेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । रौतहटको चन्द्रनिगाहपुर मुख्य चोकमा पनि प्रेसरकुकर बम फेला परेको छ ।
अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कस्थित अर्घाखाँची र बाग्लुङमा पनि बम फेला परेका छन् । बाग्लुङ नगरपालिका २ कुडुलेचोकमा पनि बम फेला परेको छ ।
त्यसैगरी कपिलवस्तुको वाणगंगाका दुई स्थानमा पनि बम भेटिएका छन् । बमलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर निष्कृय पारेका छन् ।
नवलपुरको मध्यबिन्दु नगरपालिका–११ दाउन्नेमा लु २ ख १०८ नम्बरको सिमेन्ट बोकेको ट्रकमा पेट्रोल बम प्रहार भएको छ । पेट्रोल बम प्रहारबाट ट्रक चालक घाइतेसमेत भएका छन् । त्यसैगरी कावासोती नगरपालिका–१६ पत्थरखोला पुल नजिकै गुडिरहेको बा ३ च ९३ नम्बरको जिपमा पनि पेट्रोल बम प्रहार भएको छ ।
गण्डकी प्रदेशको राजधानी पोखराको मुख्य चोकमा बम भेटिएको बताइएको छ । पोखराको पृथ्वी चोकमा भेटिएको बम सुरक्षाकर्मीले निष्कृय पारेका छन् ।
यसअघि पृथ्वी राजमार्गअन्तर्गत धादिङको महादेवबेंशी पुलमा पनि विस्फोटक पदार्थ फेला परेको छ । प्रहरीका अनुसार, गजुरीबाट आएको नेपाली सेनाको सेनाको टोलीले झण्डै चार घण्टा लगाएर उक्त विस्फोटक पदार्थ निस्क्रिय पारेको थियो ।
बन्दका कारण राजमार्गका साथै देशका मुख्य सहर सुनसान छन् । काठमाडौं उपत्यकामा पनि पछिल्ला बन्दभन्दा निकै प्रभाव परेको छ । अति आवशकीय सवारी साधान बाहेक फाट्टफुट्ट मात्रै सार्वजनिक यातायात चलेका छन् ।
यसैबीच सर्लाहीको हरिपुर नगरपालिकाको कार्यालयमा बम विष्फोट भएको छ । राती ११ बजे भएको विष्फोटले नगरपालिका कार्यालय भवनको झ्यालको सिसा तथा कम्पाउण्ड वालमा क्षति पुगेको प्रहरीले जनाएकाे छ।
विष्फोटको जिम्मा कसैले नलिएको प्रहरीले बताएको छ । राती बिस्फोटको ठूलो आवाज आएपछि स्थानीय त्रसित भएका थिए ।
नेकपाले भोजपुरमा आफ्ना जिल्ला नेता तिर्जराज घिमिरेको हत्या गरिएको भन्दै नेपाल बन्दसहितका संघर्षका कार्यक्रम घोषणा गरेको थियो । onlinedabali
कर्णाली रैवार संवाददाता । १३ जेष्ठ २०७६, सोमबार १६:५२