अनुमति नपाउदा फकिए तिर्थयात्री

हुम्ला –मानसरोवर कैलाश दर्शनका लागि सिमकोट पुगेका २० जना भारतीय तिर्थयात्री नेपालगंज फिर्ता भएका छन । सन्नी ट्रेक मार्फत मानसरोवर कैलाश दर्शनका लागि मुम्बैबाट हुम्ला पुगेका २० जना भारतीय तिर्थयात्री बुधबार नेपालगञ्ज फिर्ता भएका हुन ।
चीन सरकारले मानसरोवर कैलाश जाने भिसाको अनुमति नदिएपछि २० जना फर्किन बाध्य भएको सन्न भ्याली रिर्साट हुम्लाका म्यानेजर निमा लामाले जानकारी दिएका छन ।

उनका अनुसार ७५ जनाको समुहलाई भिसा अनुमतिका लागि चीनिया दुताबासमा पठाइएको भएपनि ५५ जनाले मात्रै भिसा अनुमति पाएको लामाले बताए ।
मानसरोवर कैलाश दर्शनका लागि हुम्लाको सिमकोट पुगेका २० तिर्थयात्री भिसा नपाएपछि फिर्ता हुन बाध्य भएको लामाको भनाई छ ।

हामीलाई केही थाहा नभएको र यसबारे काठमाडौ गएर ट्रभलएजेन्टसंग कुरा गर्ने मानसरोवर कैलाश जान सिमकोट पुगी फर्किन लागेका रेशम तलबारले बताए ।
भिसा नदिने कुरा पहिलै थाहा दिएको भए हामी दुख गरेर सिमकोट पनि आउने थिएनौ उनले भने ।

मानसरोवर कैलाश यात्राका लागि सिमकोटको बाटो भएर ३ सय ३३ जना महिला र ३ सय ५९ जना पुरुष गरी जम्मा ६ सय ९२ जना आएका छन ।
यात्रको सिजन संगै यात्रुको चाप बढेपछि सिमकोटका लागि अहिले सिम्रीकका २, सुमिटका २ र माउण्टेनको १ गरी ५ वटा हेलिकप्टरले सिमकोटमै नाइट स्टे गरी बिहान देखि बेलुका सम्म उडान भदै आएका छन ।