लेक लागेर एकको मृत्यु

नाम्खा गाउँपालिका ५ मा पर्ने नारा लेकमा आइतबार लेक लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नाम्खा ६ तिलगाउँका ६९ वर्षीय छिरीङ लामा रहेका छन् ।

हिमपातले बन्द भएको उत्तरी हिल्सा नाका खुलेपछि केही दिन अगाडि काठमाडौंबाट सिमकोट आएका लामा ४,५ दिन सिमकोट बसेर आफ्नो घर तिलगाउँ जाने क्रममा करिब ५ हजार मिटर उचाइको नारा लेकमा लेक लागेर उनको मृत्यु भएको सीमा चौकी हिल्सालाई उद्धृत गर्दै हुम्ला जिल्ला प्रहरी प्रमुख डिएसपी रामप्रशाद घर्तिमगरले बताए ।

मंसिरमा काठमाडौं झरेका लामा घर जान भनेर ३ दिन अगाडि सिमकोटबाट हिँडेको नाम्खा ६ लिमीका वडाध्यक्ष पाल्जोर तामाङले बताए । बिहान लेक लागेर हिँड्न नसक्ने भएपछि लामालाई भारतीय धार्मिक पर्यटक पुर्याउन हिल्सा गएको माउण्टेन हेलिकप्टरले उद्धार गरेको थियो । उनको दिउँसो १२ बजे मृत्यु भएको हुम्ला डिएसपी घर्ती मगरले बताए  ।