हुम्लामा ९० वर्षीया वृद्धाको स्वास्थ्य बिमा

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले हुम्लाकी ९० वर्षीया वृद्धालाई  स्वास्थ्य बिमाको कार्ड दिएका छन् । सिमकोट गाउँपालिका ४ की  ९० वर्षीया डोल्मा लामालाई स्वास्थ्य बिमाको कार्ड दिइएको हो ।

२०७२ मा सरकारले कैलालीबाट सुरुवात गरेको स्वास्थ्य बिमा अभियान अन्र्तगत ४३ औं जिल्लामा हुम्लामा पनि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन भएको छ ।

जनतालाई स्वास्थ्यमा सहज पहुँच दिन तपाईको स्वास्थ्य हाम्रो अठोट भन्ने मुल नाराका साथ राष्ट्रिय बिमा बोर्डको आयोजनामा स्वास्थ्य बिमा दर्ता कार्यक्रम सञ्चालन गरिएको हो ।

स्वास्थ्य बिमा कार्यक्रम उद्घाटन गर्न गृह जिल्ला पुगेका रावलले जनतलाई स्वास्थ्यमा सहज पहुँच पुर्याउन सरकारले यस्तो कार्यक्रम चलाएको बताए । वर्तमान संघीय सरकार र कर्णाली प्रदेश सरकार जनताको स्वास्थ्यको विषयमा एकदमै संवेदनशिल रहेको बताउँदै उनले उपचारबाट बञ्चित कर्णालीबासीलाई यस कार्यक्रमले राहत मिल्ने बताए ।

नेपाल सरकार स्वास्थ्य बिमा बोर्डका वरिष्ठ  जन स्वास्थ्य प्रशासक डाक्टर भुवन पौडेलले स्वास्थ्य बिमा सामाजिक न्यायमा आधारित कार्यक्रम रहेको बताए । रोग लाग्दा आर्थिक जोखिम कम होस भन्ने उद्देश्यले सरकारले कार्यक्रम सञ्चालन गरेको उनले बताए । उनका अनुसार सरकारले ७० वर्ष भन्दा माथिका वृद्धवृद्धाहरुलाई निःशुल्क रुपमा स्वास्थ्य बिमा गर्ने छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावत, सिमकोट गाउँपालिका अध्यक्ष पदम बहादुर लामा, खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण बहादुर रावल र स्वास्थ्य बिमाको सदस्यहरुले कार्ड वितरण गरेका थिए ।

हुम्लामा कुल आठ हजार पाँच सय ५५ घरधुरी मध्ये दुई हजार एक सय १८ घरधुरी अति गरिब रहेका छन । अति गरिबीमा गरेका सबैलाई  निःशुल्क स्वास्थ्य बिमा गरिने छ ।