प्रदेश राजधानीसँग जोडिएन सिमकोट

देश संघीय संरचनामा गए पनि हुम्ला सदरमुकाम सिमकोट कर्णाली प्रदेशको केन्द्र सुर्खेतसँग सीधा जोडिन सकेको छैन । हुम्लाका बासिन्दा आफ्नो प्रदेशको केन्द्रसम्म पुग्न पाँच नम्बर प्रदेशको नेपालगन्ज भएर आउजाउ गर्न बाध्य छन् ।

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्ला जिल्लाको यात्राको एक मात्र विकल्प हवाई उडान हो । कुनै पनि जहाज कम्पनीले सुर्खेत-सिमकोट नियमित उडान नगर्दा प्रदेश राजधानीसँग सिधारूपमा हुम्ला सदरमुकाम जोडिन नसकेको हो । निजी हवाई कम्पनी र सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले नेपालगन्जबाट मात्र यात्रु उडान गर्दै आएका छन् ।

केही समयअघि सीता एयरले कर्णालीको हुम्ला, मुगु, डोल्पा र जुम्लामा सुर्खेतबाट नियमित उडान गर्ने तालिका निकालेको थियो । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सिता एयरको जहाजबाट डोल्पाको जुफाल र हुम्लाको सिमकोट पुगेर नियमित यात्रु उडानको सुरुवात भएकोे घोषणा पनि गरेका थिए । तर, उक्त कम्पनीको उडान पनि नियमित भएन ।

प्रदेशको केन्द्रसँग जिल्ला सदरमुकाम जोड्न सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले पनि वास्ता नगरे पनि हुम्ला सदरमुकाम प्रदेश राजधानीसँग सिधा जोडिन सकेको छैन । संघ र प्रदेश दुवै सरकारले  ध्यान नदिँदा  प्रदेश  नम्बर पाँचको नेपालगन्ज हुँदै आफ्नो प्रदेशको राजधानी जानुपर्ने बाध्यता रहेको हुम्लाका स्थानीयवासीको गुनासो छ ।

सुर्खेतबाट हुम्ला, मुगु, डोल्पा र जुम्ला उडान नभएपछि यात्रु नेपालगन्ज हुँदै सुर्खेत जानुपर्ने बाध्यता रहेको सिमकोट गाउँपालिका पाँचका स्थानीय भीमबहादुर रोकायाले बताए ।

प्रदेशको केन्द्र सुर्खेत र हुम्लाको सदरमुकाम सिमकोटमा विमानस्थल भए पनि उडान नहुँदा यात्रु हुम्लाबाट नेपालगन्ज भएरै प्रदेश राजधानी सुर्खेत पुग्नुपर्ने भएको हो । जनप्रतिनिधिले पनि सुर्खेतमा काम पर्दा वा बैठकमा सहभागी हुन जाँदा नेपालगन्ज भएरै आउजाउ गर्नुपर्ने भएको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णु लामाले बताए । हुम्लाबाट नेपाल वायुसेवा निगमलगायत निजी हवाई कम्पनीका तारा, समिट, सीता एयरका जहाजले नेपालगन्ज उडान भर्दै आएका छन् । naya patrika bat