जुम्लामा पहिलो पटक महिला सिडिओ

मानदत्त रावल  जुम्ला इतिहासमा पहिलोपटक सिडिओको रुपमा महिला आएकी छन् । पहिलो महिला प्रमुख जिल्ला अधिकारी (सिडिओ)को रुपमा दुर्गा बञ्जाडे शुक्रबारदेखि जुम्लाको जिम्मेवारी सम्हालेकी छन् ।

बञ्जाडे जुम्लाको हरेक सकारात्मक अभियानमा सबै एक साथ भएर लाग्ने वातावरण सिर्जना गर्ने बताईन् । ‘म आफूले जानेको, भोगेको र अनुभव गरेको सबै बुद्धिबिवेक प्रयोग गरेर काम गर्ने छु,’ उनले भनिन्, ‘ऐननियमले निर्दिष्ट गरेसम्मको अधिकार प्रयोगगरेर भएपनि राम्रो काम गर्छु ।’ सेवा प्रवाहमा पारदर्शिता र गुणस्तरीयता कायम गराउनमा पहल गर्नेमा उनले बताइन् ।

पहिलो दिन विभिन्न निकायसँग बैठक
कार्यभार सम्हालेको पहिलो दिनमै उनले कार्यालयका कर्मचारी, कर्मचारी मिलन केन्द्र र सुरक्षा निकायका प्रतिनिधिसंग बैठक गरेकी छन् । जिल्लास्थित पत्रकारसँग भेटघाट गरेर आफ्ना् आगामी योजना बारे जानकारी गराइन् । ‘सरकारी कार्यालय र उसले दिने सेवाका विषयमा कार्यालय प्रमुखको बैठकमा बृहत बहस चलाउँछु’, उनले भनिन्, ‘कानून कार्यान्वयनमा शून्य सहनशीलता अपनाउँदै कानुनी शासन स्थापित गर्छौ, भ्रष्टाचार प्रति शून्य सहनशीलता अपनाउँछौं ।’

२०२४ सालदेखि हालसम्म ४० वटा सिडिओ परिवर्तन भइसकेका छन् । अहिले सिडिओको जिम्मेवारीमा जुम्ला आएकी दुर्गा बञ्जाडे ४० औँ सिडियो हुन् ।  Naya Patrika bat