बजेट स्थानान्तरणमा हिनामिनाको आशंका

हुम्ला-सिमकोट गाउँपालिकाको ठूलो रकम हिनामिना भएको आशंका गरिएको छ । स्थानीयवासीले गाउँपालिकाको १ करोड ५७ लाख ५२ हजार ६ सय ६७ रुपैयाँ बराबरको बजेट हिनामिना भएको आशंका गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।
गत आर्थिक वर्षको बजेटमा सिमकोट गाउँपालिकाको खाताबाट खार्पुनाथ गाउँपालिकाको खातामा स्थानान्तरण गरी रकम हिनामिना गरेको आरोप स्थानीय सरोकारवालाले लगाएका छन् । सिमकोटका युवाको अगुवाइमा रकम हिनामिना भएको बारे छानबिन गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानालाई ज्ञापनपत्र बुझाइएको हो ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी ढुंगानाले रकम हिनामिना भएको हो वा होइन भन्ने बारे तीन दिनभित्र सत्यतथ्य बाहिर ल्याउने प्रतिबद्धता व्यक्त गरे । कोही कसैले गलत गरेको भए कारबाही गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । गैरजिम्मेवार रुपमा एक गाउँपालिकाको रकम अर्को गाउँपालिकामा स्थानान्तरण गरी खर्च गरिनु गलत हुने उनको भनाइ थियो ।
कसरी भयो बजेट स्थानान्तरण ?
सिमकोट र खार्पुनाथ गाउँपालिकाको लेखा हेर्ने गरी जिम्मा पाएका लेखा अधिकृत आश्विनी देवकोटाले सिमकोटका प्रशासकीय अधिकृत अर्जुन दर्जी, गाउँपालिका अध्यक्ष पदम लामा, उपाध्यक्ष बली रावत र कोही पनि कर्मचारीलाई थाहा नदिइ खार्पुनाथ गाउँपालिकाको लेटरप्याडमा राष्ट्रिय वाणिज्य बैंक, सिमिकोटमा रहेको सञ्चित कोषको खाता नं. ४१९०३०४०१८१०३ बाट गत जेठ २४ गते १ करोड ५७ लाख ५२ हजार ६ सय ६७ खार्पुनाथ गाउँपालिकाका कार्यकारी अधिकृत चन्द्रविर शाहीको दस्तखत गराई खातामा रकम स्थानान्तरण गरेको पाइएको छ । लेखा अधिकृत देवकोटाले दुई गाउँपालिका सिमकोट र खार्पुनाथको कामको चटारोले खाता नं. फरक पर्न गई यस्तो हुन गएको स्वीकारेका छन् ।
राष्ट्रिय बाणिज्य बैंकका कर्मचारीले पन एउटाको लेटरप्याड र अर्कोको खाताबाट कसरी रकम स्थानान्तरण गरे भन्ने आशंका स्थानीयले गरेका छन् । लेखा अधिकृत देवकोटाले भने सानो गल्ती भएको बेला मिलेन भनेर फिर्ता पठाउने बैंकले यस्तो ठूलो गल्ती हुँदा पनि किन चिठी फिर्ता पठाएन भन्ने प्रश्न तेस्र्याएका छन् । आफूले कम्प्युटर टाइपमा गग्ती गरेको भए पनि बैंकले त्यसको गलत पुष्ट्याई गरेको भए रकम स्थानान्तरण नहुने लेखा अधिकृत देवकोटाको जिकिर छ ।
राष्ट्रिय वाणिज्य बैंकले भने बैंकको रकम पोस्टिङमा गलत भएको भए तत्काल खार्पुनाथ गाउँपालिकाको रकमबाट सिमकोट गाउँपालिकाको खातामा रकम फिर्ता गराउने जनाएको छ । काम गर्ने सिलसिलामा केही गलत भएको हुन सक्ने बैंकका प्रबन्धक ठोक्रे विष्टले बताए । त्यसलाई सच्याउन बैंक तयार रहेको उनले बताए ।
उता गतवर्षको रकम भने खर्च गरी सकेको खार्पुनाथ गाउँपालिकाले १ महिनामा साढे एक करोड रकम के कसरी खर्च ग¥यो भन्ने अर्को आशंका पनि उत्पन्न भएको सिमिकोट–६ का ज्ञानेन्द्र रावतले बताए ।
खार्पुनाथमा कहाँ भयो बजेट खर्च ?
असारको अन्तिम साता खार्पुनाथ गाउँपालिकाको खातामा साढे १ करोड रकम प्राप्त हुँदा खार्पुनाथ गाउँपालिकाका कर्मचारी किन कसरी रकम आयो भन्ने खोजीमा लाग्नुभन्दा धमाधम नयाँ योजनाको तर्जुमा गर्दै खर्च गर्नमा नै लागिपरेका थिए । खार्पुनाथ गाउँपालिकाको सामुदायिक भवनदेखि लिएर अन्य योजना तर्जुमामा रकम खर्च गरिएको लेखा अधिकृत देवकोटाको भनाइ छ । ठूला योजना दिँदा तत्कालीन टेण्डर आह्वान नगरी रकमको फटाफट खर्च गरिएको पाइएको छ । खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावललाई यसबारेमा आफू अनविज्ञ भएको बताए ।
गाउँपालिकाले रकम खर्च गरेको देखिएको र उचित योजनामा खर्च भएको भए अर्को आर्थिक वर्षमा सो रकम सोधभर्ना गर्ने आफ्नो योजना रहेको उनले बताए । सिमकोट गाउँपालिकाका अध्यक्ष पदम लामाले भने यही आर्थिक वर्षमा सो रकम गाउँपालिकाले पाउनुपर्ने जिकिर गरे ।
रकम हराएको कसरी थाहा भयो ?
बजेट स्थानान्तरण भएको खुलासा भने खार्पुनाथ गाउँपालिकाको आन्तरिक लेखापरीक्षण गर्ने क्रममासाउन दोस्रो हप्तामै पत्ता लागेको थियो । जिल्लाको कोष तथा लेखा नियन्त्रण कार्यालयले लेखापरीक्षण गर्दा बढी रकम खार्पुनाथले प्राप्ति गरेको थाहा भएको थियो । ठूलो रकम खातामा जम्मा भएको थाहा पाएपछि लेखा परीक्षकले आन्तरिकरुपमा मिलान गर्न सुझाएका थिए ।