देशको विभिन्न भागमा हिमपात, जनजीवन प्रभावित

हिमपातका कारण भीमदत्त राजमार्ग अवरुद्ध ७ जिल्लाको यातायात ठप्प
करन ताम्राकार
डडेल्धुरा

डडेल्धुरामा सोमबार राति परेको हिमपातले सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको यातयात ठप्प भएको छ । दार्चुला, डडेल्धुरा, बैतडी, बझाङ, डोटी, अछाम र बाजुराको मुख्य राजमार्ग भीमदत्त राजमार्गमा  सोमबार रातिदेखिनै  यातायात चल्न सकेको छैन । डडेल्धुराको भीमदत्त राजमार्ग मेलखर्क, हगुल्डे, साउँ खर्क, भत्कडाँ, स्याउँले बजारलगायत क्षेत्रमा करिब ४ इन्च बाक्लो हिउँ जमेको छ ।

राजमार्गमा जमेको हिउँ हटाउन डोटीबाट  डोजर मगाई सडक खुलाइने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । राजमार्ग नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले खुलाउने प्रयास गरिरहेको प्रहरीले जनाएको छ ।

डडेलधुरामा यस वर्ष तेस्रो पटक हिमपात भएको हो ।

डोल्पामा हिमपात 
रामचन्द्र न्यौपाने
डोल्पा

हिमाली जिल्ला डोल्पामा मंगबार बिहानदेखि भारी हिमपात भएको छ ।

त्रिपुरासुन्दरी नगरपालिकाको त्रिपुराकोट, करेलीकाँडा, पहाडा, लिकु, दापु जगदुल्ला गाउँलिकाको रिमी काइगँउ, ठुलीभेरी नगरपालिकाको जुफाल, माझफाल, रहलगायतका स्थानमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक अभदेश बिष्टले जानकारी दिए ।

हिमपातले यहाँको तापक्रम शुन्यमा झरेपछि जनजीवन कष्टकर बनेको छ भने कर्णालीका बस्ती र डाँडाकाँडाहरु हिँउले सेताम्य ढाकेका छन् ।

डोल्पामा यो वर्ष दोस्रो पटक हिमपात भएको हो ।

भारी हिमपातका कारण बाजुराको जनजीवन प्रभावित 
गगन अयडी
बाजुरा 

जिल्लाका विभिन्न ठाउँमा भारी हिमपातपछि जनजीवन कष्टकर बनेको बनेको छ ।

सोमबार रातिदेखि परेको हिमपातले बाजुराका हिमाली बस्तीहरु हिउँले ढाकेर सेताम्य भएका छन् । हिमाली गाउँपालिकाको रुगीन, बिच्छया, गौमुल गाउँपालिकाको दहकोट, मानाकोट, खप्तड छेडेदह गाउँपालिकाको काँडा, आटीचौर, त्रिवेणी नगरपालिकाको कैलाशमाडौँ, बूढीनन्दा नगरपालिकाको पाण्डुसैन, बडीमालिकाको डम्कने, रजातोली, जुगाडालगायतका स्थानमा भारी हिमपात भएको छ ।

हिमपातपछि सदरमुकाम मार्तडीका लगायत आसपासका पसलहरू बन्द भएका छन ।

सदरमुकाम आसपासको क्षेत्रमा आधा फिट भन्दा बढी हिउँ जमेको छ । हिउँले मार्तडी कोल्टी सडकमा चल्ने ट्याक्टर र जीपसमेत बन्द भएको स्वामिकात्तिक यातायात प्रालिका काउण्टर इन्चार्ज निशान्त रोकायाले बताए ।

सुदुरपश्चिमका  उच्च पाहाडी जिल्लाहरुमा बाक्लो हिमपात
अमर राज भट्टराई
बैतडी

बैतडी तथा सुदूरका उच्च पहाडी जिल्लाहरुमा  बाक्लो हिमपात भएको छ । बैतडीका खोडपे, सतबाँज लगायतका क्षेत्रमा हिजो रातिदेखि भारी हिमपात भएको हो । हिमपात सँगै यहाँको जनजिवन कष्टकर बनेको छ । सावारी साधनहरु पुर्ण रुपमा अवरुद्ध भएका छन । जिल्लाको श्रीभावर , खोडपे, सतबाज, धर्मघर  लगायतका ठाँउहरुमा  बाक्लो हिमपात  भएको छ ।


यस्तै बझाङ्का बित्थड, दार्चुलाका उच्च पहाडी क्षेत्रहरुमा पनि बाक्लो हिम पात भएको छ । डडेल्धुरादेखि बैतडीको भिमदत्त राजमार्ग सडकखण्ड र जयपृथ्बी राजमार्ग अन्तर्गत खोडपे बझाङ् सडक खण्डमा बाक्लो हिमपातकै कारण  पुर्ण रुपमा सावारी चल्न सकेका छैनन । रातिदेखिको  हिमपातका कारण विद्युतसमेत अवरुद्ध भएको छ ।

मुगुमा भारी हिमपात जनजिवन कष्टकर
अच्युत राज भण्डारी
मुगु 

हिमली जिल्ला मुगुमा भएको भारी हिमपातले जनजीवन कष्टकर बनेपनि हिउँले बालिबिरुवा सप्रने भन्दै कृषकहरु हर्षित भएका छन् ।

सोमबार रातिदेखि परेको हिमपातले जनजीवन प्रभावीत हुनुका साथै सडक तथा हवाइ यातायत प्रभावित भएको छ ।
हिमपातले मुगम कार्मारोङ्ग गाउँपालिकाका मुगु, डोल्फु, चितै, ताखा, खारी, कात्ति, किम्री, दाउरा, सेरोग, पुलु, पुअ, मह, मांग्रीलगायतका ठाउँका जीवन कष्टकर बनेको कार्मारोङ्ग– ५ दाउरा गाउँका सोनाम नुर्बु लामाले बताए ।

छायाँनाथ रारा नगरपालिकाको मुन्दु, कोटील्ला, ताल्च, रारा, टोप्ला, झ्यारी घुच्चीलेक, रोवा, सोवा, चराप, झाकोट, बाम, तलीतुम, माथि तुम,  लगायतका गाउँमा हिमपात भएको छ ।

त्यस्तै खत्याड गाउँपालिकाको नखर्जि, जामीर, राष्कुटीबाडा, खमाल्या, कोटील्ला, चागपाँडे, कवाँ, भागोटी, साड्बाडा, निगालीबोट, जम्फै, जोगीलेक, गाडेखोला, डाडुपाटा, जिउका, सेरी, श्रीकोट, बरातु लगायतका गाउँमा पनि हिमपात भएको छ । सोरुका कालै, खनायाँ धैन, नुवाकोट, रुम, नेर, सोरुकोट लगायतको ठाउँमा हिमपातले जनजीवन कष्टकर भएको छ ।

खत्याड गाउँपालिका– ५ खमाले गाउँकी मसरी बुढाका अनुसार हिमपात भएपछि बालिनाली, स्याउ र ओखरका बिरुवा सुक्ने चिन्ता हराएको छ ।

हिमपातकै कारण छायाँनाथ रारा नगरपालिका–७ स्थित कर्णाली राजमार्ग अन्तर्गत नाग्म गमढी सडक खण्डको घुच्चीलेकमा सवारी साधन अवरुद्ध भएको छ ।

हिमपातले तापक्रम माइनस ८ डिग्रीमा झरेको छ ।

हुम्लामा हिमपात, उत्तरी नाम्खा सम्पर्क विहीन

हिमाली जिल्ला हुम्लामा  फेरी पनि हिमपात भएको छ । हिमपात भएसँगै यहाँकाे जनजीवन प्रभावित बन्दै गएको छ । हिमपातका कारण नेपालगगञ्ज र सुर्खेतबाट हुने दैनिक हवाई उडान समेत अवरुद्ध भएको छ ।

गएरातीबाट हिमपात सुरु भएको हो । हिमपातका कारण उत्तरी नाम्खा गाउँपालिकाका बस्तीहरु सम्पर्क विहीन बनेका छन् । उत्तरी नाम्खा गाउँपालिकाका लिमी, हल्जी, जाँङ, तिला, चाला, यारी मुचु, केर्मी याल्वाङ, च्यादुक, याङगार, खगाँलगाँउ, हेप्का, टाङगिन लगायतका बस्तीहरु जिल्ला सदरमुकाम सिमकोटबाट सम्पर्क विहीन बनेका हुन् ।

यो वर्ष कार्तिक महिनादेखि नै हिमपात भएकाले अत्याधिक चिसो बढेको छ । चिसोले जिल्लाका सरकारी तथा गैह्रसरकारी कार्यालय, निजी व्यवसाय गर्दै आएका होटेलहरु पनि प्रभावित बनेका छन् । यसैगरी बालबालिका, अशक्त, बृद्धबृद्धा बढी प्रभावित भएका छन् ।

हिमपात भएसँगै सदरमुकाम सिमकोटको तापक्रम माइनस ७ पुगेको छ । १ फिट भन्दा बढी हिउ जमिसकेको छ । हिमपातका कारण बालिनालि सप्रिने भन्दै  स्थानीय कृषकहरु खुसी भएका छन् ।

हुम्लाको उत्तरी  लिमी, हल्जी, जाँङ, तिला, चाला, यारी मुचु, लगायतका स्थानहरुमा ३ देखि ४ फिटसम्म हिउँ परेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी प्रमुख नायव उपरिक्षक रविन श्रेष्ठले जानकारी दिएका छन् । दक्षिणी भेगमा पानी परेको प्रहरी उपरिक्षक श्रेष्ठले बताए । नयाँ पत्रिकाबाट समाचार