कविता : पत्रकार

नवराज न्यौपाने’मौन’

यहाँ लेखिएको भयो जो प्रमाण
त्यही बन्छ ठूलो भरोसा र आड
कहाँ लुक्न सक्थ्यो लुकाएर भार
चनाखो छ धेरै यहाँ पत्रकार ।१।

जरा फेद खोजी समाचार लेख्छ
लुकाएर राख्दा झनै प्रष्ट देख्छ
बुझी सत्य सारा नियालेर सार
चनाखो छ धेरै यहाँ पत्रकार ।२।

कहाँ लेक बेसी कहाँ हो तराइ
घुमेकै छ धर्ती समाचार पाई
म चौथो हुँ अङ्गै भनी बारबार
समाचार खोज्दै घुम्यो पत्रकार।३।

सधैं सूचनाले जगायो धरा यो
र गल्ती भएमा सतर्कै गरायो
जसै चुक्छ कोही भुली वारपार
समाचार टिप्दो भयो पत्रकार।४।

र साँचो र झूठो दुबै देख्नु पर्छ
नराम्रो र राम्रो सबै लेख्नु पर्छ
सबै तथ्य बुझ्दै खिचे आज सार
समाचार छाप्दो भयो पत्रकार।५।