
सडकले नछोएको हुम्लामा खच्चरबाटै सरसामान ओसार्ने गरिएको छ । स्थानीय बासिन्दा त खच्चरको भरमा छन् नै खच्चर व्यवसायीले पनि त्यही आम्दानीले दैनिकी चलाउने गरेका छन् । दैनिक सयौँ खच्चरले मुगु र बाजुराबाट हुम्लाका लागि उपभोग्य सामान ढुवानी गर्छन् । हुम्ला उद्योग वाणिज्य संघका अनुसार दैनिक ६ हजार किलोग्रामभन्दा बढी सामान खच्चरमार्फत नै भित्रिने गरेको छ ।
मुगु सदरमुकाम गमगढीसम्म सडक पुगेको छ । त्यहाँबाट हुम्लाको पूर्वी क्षेत्रका तीन गाउँपालिकामा दैनिक उपभोग्य वस्तु र विकास निर्माणका सामग्री आयात हुने गरेको छ । गमगढीबाट सामान ढुवानी हुँदा केही सस्तो भएको चंखेली गाउँपालिका–१ का तिलक बोहोराले बताए । त्यस्तै, सदरमुकाम सीमकोटका व्यापारीले पनि गमगढीबाटै खच्चरमार्फत सामान ढुवानी गराउँछन् । जसले गाउँमा खच्चरको माग बढेको छ ।
खच्चर खरिद गर्न होडबाजी नै चल्ने गरेको बोहोराले बताए । खार्पुनाथ गाउँपालिकाको सुनखाँडादेखि मुगुको भट्टेचौरसम्मको बाटोमा दर्जनौँ होटेल छन् । तिनको कारोबार पनि खच्चरले नै धानेको चंखेली गाउँपालिका–४ का झक्क रोकायाले बताए । सामान ढुवानी गर्दा कमाइ राम्रो हुने भएकाले खच्चरको संख्या पनि बढेको उनले बताए ।
संस्थानको चामल पनि खच्चरमै
नेपाल खाद्य संस्थानले पनि खच्चरबाटै चामल ढुवानी गर्दै आएको छ । गमगढीबाट हुम्लाको सर्केगाड, देउली र सदरमुकाम सीमकोट खाद्य डिपोसम्म चामल ढुवानी गरिँदै आइएको छ । जहाजभन्दा सस्तो पर्ने भएकाले खच्चरबाटै ढुवानी गरिँदै आएको संस्थानले जनाएको छ । नेपालगन्ज र सुर्खेतबाट हुम्लाका लागि संस्थानले चामल ल्याउने गरेको छ । त्यहाँबाट सीधै हवाइमार्गबाट ढुवानी गर्दा प्रतिकिलोग्राम एक सय २० रुपैयाँ पुग्छ । तर, खच्चरबाट ल्याउँदा ६० देखि ७० रुपैयाँसम्म सीमकोट पुग्ने गरेको छ ।
नरजन तामाङ । ४ माघ २०७५, शुक्रबार १६:५१