सिमकोट गाउँपालिका ८ स्थित स्याडा गाउँका ५० वर्षीय तुलसिह बुढा भेडा लिएर अछाम झरेका छन् । लामाे समयदेखि यही व्यवसाय गर्दै आएका बुढा १० वर्षको छोरो साथमा भेडासहित अछाम झरेका हुन् ।
गाउँमा भेडा चरन क्षेत्रको समस्या र चिसोको कारण प्रत्येक वर्ष अछाम झर्ने गरेको उनले बताए । चार पाँच महिना अछाममा भेडा पालेर बैशाखमा उही भेडालाई चामल बोकाई घर फर्कने उनको योजना छ ।
स्याडा गाउँमा बस्दै आएका दुई सय परिवारको मूख्य व्यवसायको रुपमा भेडा पालन रहेको छ । एउटा भेडा १० देखि १७ हजार सम्ममा बिक्री हुने र भेडाको उनबाट राडी पाखी बनाउन सकिने भएकाले यहाँको स्थानीयले सजिलो पेशाको रुपमा भेडापालनलाई लिएका छन् । गाउँघरमानै निर्माण गरिने राडीपाखी भने ८ देखि २० हजार रुपैयाँ सम्ममा बिक्री हुने गरेको छ ।
गाउँमा प्रत्येकले अपनाएको यो पेशामा २० देखि एक सय भन्दा बढी भेडा पाल्ने स्थानीय छन् । गाउँका अधिकाश स्थानीय मंसिर महिना सुरु भएदेखि नै भेडा लिएर अछाम झर्ने गरेका छन् ।
नरजन तामाङ । ३ माघ २०७५, बिहीबार २२:५८