मुगुको खत्याड गाउँपालिकाका बासिन्दा एक दिन पैदल खर्चेर मुगुकै श्रीकोट डिपो पुग्दा पनि चामल पाइने ग्यारेन्टी हुँदैन, रित्तो फर्कनुपर्छ । सदरमुकाम गमगडी पुग्न दुई दिन पैदल नाप्नुपर्छ । बरु आधा–एक घन्टाको दूरीमा रहेको सीमावर्ती जिल्ला बाजुराको धुलाचौरमा खाद्यको बिक्रीकेन्द्र छ, त्यहीँबाट चामल किन्छन् । त्यहीँ सानो बजारबाट दैनिक उपोग्य वस्तु पनि किनमेल गर्छन् ।
‘कलिजुगमा जन्म भयो, विकटमा वास भयो । बाजुराको रासनपानी मुगुको वास भयो…, बाजुराको रासनपानी सिदि मन रुँदैन, हाम्रा ठाउँमा नेता छैनन्, सरसल्लाह हुँदैन…,’ मुगुको खत्याड गाउँपालिका– ११ सुकाडिलकी लक्ष्मीदेवी कार्कीले देउडा गीतको लयमा यसरी पीडा पोखिन् । यो लक्ष्मीको मात्र होइन, खत्याड गाउँपालिकाका हरेक नागरिकको वेदना हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट उपलब्ध हुने अनुदानको चामलकै लागि उनीहरूले मुगुको नागरिक भएर पनि ‘बाजुराको नागरिक हुँ’ भन्नुपरेको छ । एक दिन पैदल खर्चेर मुगुको श्रीकोट डिपो पुग्दा पनि चामल पाइने ग्यारेन्टी हुँदैन, रित्तो हात फर्कनुपर्छ । सदरमुकाम गमगडी पुग्न दुई दिन पैदल हिँड्नुपर्छ । बरु आधा–एक घन्टाको दूरीमा रहेको सीमावर्ती जिल्ला बाजुराको धुलाचौरमा खाद्यको बिक्रीकेन्द्र छ, त्यहीँबाट चामल किन्छन् । त्यही सानो बजारबाट दैनिक उपभोग्य वस्तु पनि किनमेल गर्छन् । त्यही भएर उनीहरू बाजुरेली हुँ भन्दै चामलकै लागि बाजुरा लाग्छन् । ‘बाजुराबाट अनुदानको चामल पाए खान्छौँ, मुगुबाट त चामल देखेका नाई (देखेका छैनौँ),’ कार्कीले भनिन् ।
बाजुराकाे धुलाचाैर बजार।
बाजुरा पुगेर चालम ल्याउन पनि महाभारत छ । ‘अर्को जिल्लाबाट आउनेलाई चामल दिँदैनाैँ भन्छन् । त्यहाँ आफन्तको नागरिकता मागेर डिपो गएर चामल किनेर जोहो गर्छाैँ,’ कार्कीले भनिन् ।
खत्याड गाउँपालिका– ८ रिगागाउँकी ६२ वर्षीया लक्ष्मी सञ्याललाई नुन–तेलका लागि सदरमुकाम मुगु गमगडी पुग्न दुई दिन लाग्छ । ‘आउजाउ गर्न चार–पाँच हजार खर्च हुन्छ, त्योभन्दा बाजुरा नै जान्छौँ । मुगुको वास भयो, बाजुराको गाँस,’ उनले भनिन्, ‘अनुदानको नुन किन्न हिमाली गाउँपालिका धुलाचौर (बाजुरा) जान्छौँ ।’
खत्याड गाउँपालिका अध्यक्ष अजबहादुर शाहीले पनि खत्याड– ८ र १० का नागरिकका लागि रातापानी डिपो टाढा रहेको स्वीकार गरे । ‘खत्याडका सबै नागरिकलाई सहज होस् भनेर रातापानीमा डिपो बनाइएको हो । तैपनि वडा नम्बर ८ र १० का नागरिकलाई असहज छ,’ उनले भने, ‘टाढा भए पनि चामल नियमित पाइने भए समस्या हुँदैनथ्यो । ठेकेदारको लापरबाहीले डिपोमा चामल हुँदैन ।’
खत्याड गाउँपालिकाकाे रिगा बस्ती ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुगुका कार्यालय प्रमुख पुष्कर भामका अनुसार मुगुमा खाद्यका एक शाखा, तीन डिपो र दुई बिक्रीकेन्द्र छन् । अहिले शाखा कार्यालयमा ६ सय ८० क्विन्टल मात्रै चामल मौज्दात रहेको उनले बताए ।
खत्याड गाउँपालिका– ८ की होइजाली ढोलीका युवाहरू भारतमा मजदुरी गर्छन् । उनीहरू महिनामा १०–१२ हजार रुपैयाँ पठाउँछन्, त्यही पैसाबाट बाजुराबाट नुन, तेल, चामल किनेर खाने गरेको उनले सुनाइन् । ‘खेती गर्न जमिन छैन, किनेरै पेट पाल्नुपर्छ,’ उनले भनिन् ।
यस क्षेत्रका अधिकांश स्थानीय भारतमा मजदुरी गरेर जीविका चलाउँछन् । ‘पाखोको अन्नले दुई–तीन महिनाभन्दा धेरै धान्दैन,’ खत्याड गाउँपालिका– ८ का जसपाउ ढोलीले भनिन्, ‘छोरा भारत छन् । उनीहरूले पठाएको पैसाले किनेर खान्छौँ ।’ खत्याड क्षेत्रबाट बर्सेनि ५०–६० युवा मजदुरीका लागि भारत जाने गरेका छन् ।
नरजन तामाङ । १ कार्तिक २०८०, बुधबार २१:५४