एउटै याेजना दुई वटा उपभोक्ता समिति

हुम्ला-  सिमकोट गाउँपालिकाको योजना शाखाले एउटा योजनाका लागि  दुई वटा उपभोक्ता समितिसँग सम्झौता गरेको  पाइएको छ ।

गाउँपालिकाले  दुई महिनाको अन्तरमा घेरवारको योजनाका लागि दुई वटा उपभोक्ता समितिसँग सम्झौता गरेको हो ।

सिमकोट गाउँपालिका– ७ का वडा अध्यक्ष बलवीर शाहीले जबुका गाउँको गोठीपोरीदेखि माल ढुङ्गासम्म घेरबार योजनाका लागि गाउँपालिकाको योजना शाखाले एउटै समुदायका दुई वटा उपभोक्ता समितिसँग सम्झौता गरेको जानकारी दिए ।

विवाद भए सम्झौता भएको उपभोक्ता समितिलाई विवाद समाधान नगरी काम अगाडी नबढाउन पत्र काट्नुपर्नेमा त्यसो नगरी अर्को सम्झौता गर्नु नियमविपरीत भएको बताए । याेजना पाँच लाख बजेटकाे रहेकाे छ ।

गाउँपालिकाको योजना शाखाले गत मङ्सिर महिनामा प्रकाशबहादुर सिंह अध्यक्ष रहेको समिति र माघ महिनामा धनकला सिंह अध्यक्ष रहेको समितिसँग काम एउटै तर छुट्टाछुट्टै सम्झौता गरेको बताए ।

पछिल्लो सम्झौताका लागि वडा अध्यक्षले सिफारिस नगरेको भए पनि मङ्सिरमा भएको सम्झौताका लागि दिएको सिफारिस नै धनकला सिंहसँग भएको सम्झौतामा नै राखिएको छ।

योजना शाखा जिम्मेवार रहेको बताउँदै पहिले सम्झौता भएको समितिसँग निर्माण कार्य अगाडि बढाउनुपर्ने पाईएकाे छ।

दुई समितिसँग निमित्त प्रमुख प्रशासकीय अधिकृत ममता रोकायाको हस्ताक्षर छ ।

प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले आफू कार्यालयमा नभएको बेला धनकला सिंह अध्यक्ष रहेको पछिल्लो समितिले नियमविपरीत काम गरेर सम्झौता गरेको बताउँदै कर्मचारीको लापरवाहीले यो गल्ती भएको र अब समुदाय बसेर वडामा छलफल गरी विवाद समाधान गरेर आउन पठाइएको र नमिले पहिलेकै समितिलाई नै काम गर्न दिन गाउँपालिका बाध्य हुने बताए ।

पछिल्लो समितिले खाली उपभोक्ता समिति मात्र नयाँ बनाएको र अरू वडा सिफारिस प्राविधिक इष्टिमेट सबै पहिलेकै समितिको राखेर नयाँ सम्झौता गरेको बताए  । यसमा जिम्मेवार कर्मचारीहरूको कमजोरी रहेको देखिएको छ ।