तुइन चढेर कार्यालय जान्छन् जनप्रतिनिधि

कर्णाली नदीको हिल्सादेखि कवाडीसम्म दुई किलोमिटर दूरीमा एउटा पनि पुल छैन, सबै जनता तुइनबाटै ओहोरदोहोर गर्न बाध्य छन्

हुम्लाको खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावल तुइनमा (दायाँ) झुन्डिएर कार्यालय जाँदै

तुइनको भरमा कर्णाली तरेर हुम्लाको खार्पुनाथ गाउँपालिका अध्यक्ष कार्यालय आवतजावत गर्दै आएका छन् । उनीसँगै तीनवटा वडाका बासिन्दा मात्र होइन, छिमेकी विभिन्न गाउँपालिकाका जनप्रतिनिधि पनि तुइनमै कर्णाली वारपार गर्छन् ।
गाउँपालिका कार्यालय आवतजावत गर्न तुइनकै भर रहेको स्थानीय बासिन्दा मक्क रोकायाले बताए । ‘कर्णाली नदीमाथि तुइनमा यताउता गर्दा डर त लागिहाल्छ नि ! आङ सिरिङ हुन्छ,’ रोकायाले भने । दैनिक बिहान–बेलुका तुइनमा आवतजावत गर्दा समस्या हुने गरेको उनले बताए ।

बिरामी र बालबालिकालाई तुइनमा ओहोरदोहोर गराउँदा झन् समस्या हुने गरेको स्थानीय बासिन्दा बताउँछन् । बालबालिका ढिलो गरी घर आउँदा नदीछेउमै पुग्ने गरेको स्थानीय रोकायाले सुनाए । ‘तुइन चुडिँइहाल्यो कि, केही भइहाल्यो कि भन्ने चिन्ता हुन्छ,’ उनले भने ।

कर्णाली नदीमा पुल निर्माणका लागि स्थानीय बासिन्दाले जिल्लाका सबै सांसद तथा नेतालाई गुहार्दै आएका छन् । गाउँपालिकामा त हरेक दिन आग्रह गर्छन् । तैपनि कसैले वास्ता नगरेको उनीहरूको गुनासो छ ।

गाउँपालिका अध्यक्ष कर्ण रावलले तीन वडाका बासिन्दाको गुनासो आफूले पनि दैनिक सुन्दै आएको बताए । आफू पनि कर्णालीमा तुइन तरेरै गाउँपालिका कार्यालय जाने गरेको अध्यक्ष रावलले बताए । ‘म पनि तुइन तरेरै कार्यालय जान्छु । गाह्रो छ, पुल बनाउन कोसिस गरिरहेको छु,’ उनले भने । यहाँका तीनै वडाका अध्यक्ष, सदस्यहरू पनि तुइनमै आवतजावत गर्दै आएको उनले बताए ।

अँध्यारो नहुँदै  घर फर्कनुपर्छ
कर्ण रावल
अध्यक्ष, खार्पुनाथ गाउँपालिका

कर्णालीको पूर्वतिर खार्पुनाथ गाउँपालिका कार्यालय छ । मेरो घर खार्पुनाथ–४ मा पर्छ, यो कर्णाली पश्चिममा पर्छ । कर्णालीमा पुल छैन । नदीमा हिँडेर तर्न सकिँदैन । म पनि तुइन नै चढ्छु । यहाँका तीन वडाका बासिन्दा तुइनमै आवतजावत गर्छन् ।

बिहान गाउँपालिका कार्यालय जाँदा तुइनमै कर्णाली तर्छु । साँझ तुइनमै फर्किन्छु । वर्षौँदेखि तुइनकै भरमा यताउता गरेकाले बानी परिसक्यो । तैपनि तुइन तर्दा डर त लागिहाल्छ नि ! रातसाँझ यताउता गर्न गाह्रो हुन्छ । अँध्यारो नहुँदै घर फर्किसक्नुपर्छ । ढिलो हुँदा घरपरिवार पनि चिन्ता गरिहाल्छन् । गाउँपालिका अध्यक्ष भएकाले पुल बनाउन सबैले मलाई नै भन्छन् । हाम्रो बजेटले भ्याउँदैन । मन्त्रालय, सांसद सबैलाई मैले पनि गुहारिसकेको छु । राष्ट्रिय–अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई गुहारेको छु । भर्खरै हेल्भेटास नेपालसँग कुराकानी गरेको छु । आश्वासन दिएका छन्, अहिल्यै पुल बन्छ भन्न सक्दिनँ ।

सर्केगाडमा पनि तुइनकै भर
खार्पुनाथ गाउँपालिका मात्रै होइन, सर्केगाड गाउँपालिका–१ को तुम्चका बासिन्दा पनि तुइनकै भरमा कर्णाली वारपार गर्दै आएका छन् । तुम्चका बासिन्दा दैनिक उपभोग्य वस्तुका लागि मुगु पुग्छन् । त्यहाँ पनि तुइनमै आवतजावत गर्दै आएको स्थानीय बासिन्दा मंग मल्लले बताए । डोरीमा आवतजावत गर्न डर लाग्ने भएकाले काठको फल्याक राखिएको उनले बताए । ‘त्यही फल्याकमा ओहोरदोहोर गर्छौँ,’ उनले भने । पुल निर्माणका लागि गाउँपालिकालाई गुहारे पनि वास्ता नगरेको उनको गुनासो छ ।

हुम्लाको क्षेत्रमा बग्ने कर्णालीमा ६ ठाउँमा तुइन छन् । हिल्सादेखि कवाडीसम्म करिब दुई किलोमिटरमा कतै पुल नभएको थार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावलले बताए । जसले गर्दा स्थानीय बासिन्दा तुइनकै भरमा ओहोरदोहोर गर्छन् । नयाँ पत्रिकाबाट साभार