रोकिएन पत्रकारमाथिको आक्रमण र हत्या

पत्रकारहरू सन् २०१८ मा पनि हत्या, हिंसा र आक्रमणको निशाना बनेका छन् । विश्वका कतिपय स्थानमा युद्ध र द्वन्द्वका घटनामा कमी आए पनि पत्रकारमाथिको आक्रमणका घटनामा कमी नआएको एक विश्व संस्थाले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सिपिजे)का अनुसार यस वर्ष आफ्नो पेसागत कार्यमा रहेकै अवस्थामा ५३  पत्रकारको हत्या भएको छ । यीमध्ये ३४ जना पत्रकारको हत्या युद्ध वा द्वन्द्वसँग असम्बन्धित छन् । ‘रिपोर्टिङका क्रममा प्रतिशोधका आधारमा मारिएका पत्रकारको संख्या अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा दोब्बर छ,’ न्युयोर्कस्थित सिपिजेले प्रकाशन गरेको पछिल्लो प्रतिवेदनमा उल्लेख छ ।यसै साता पेरिसस्थित रिपोर्टर्स विदाउट बोर्डर्सले प्रकाशन गरेको प्रतिवेदन पनि सिपिजेसँग मिल्दोजुल्दो छ । रिपोर्टर्स विदाउट बोर्डर्सले यस वर्ष ८० जना पत्रकारको हत्या भएको प्रतिवेदन गत साता सार्वजनिक गरेको थियो । सो संस्थाले ब्लगर, नागरिक पत्रकार र सञ्चारकर्मीको मृत्युको गणना गरेको थियो ।

दुवै प्रतिवेदनले संवाददातामाथि प्रतिशोधको घटना निरन्तर बढेको जनाएका छन् । सिपिजेले आफ्नो प्रतिवेदनमा इस्तानबुलको साउदी अरेबिया महावाणिज्य दूतावासमा भएको वासिङ्टन पोस्टका स्तम्भकार जमाल खसोगीको ‘निर्लज्ज हत्या’लाई पनि समावेश गरेको छ ।

सिपिजेको प्रतिवेदनमा तीन वर्षको अवधिमा हत्या गरिएका पत्रकारको कुल संख्या बढी भए पनि सन् २०११ यता द्वन्द्वमा मारिएका पत्रकारको संख्यामा कमी आएको उल्लेख छ । ‘पत्रकारमाथि आक्रमणका घटना बढी हुने अफगानिस्तानमा अझै पनि खतरनाक परिस्थिति छ र पत्रकार मारिने क्रम रोकिएको छैन,’ प्रतिवेदनमा भनिएको छ । अफगानिस्तानमा एएफपीका प्रमुख फोटोग्राफर शाह माराई गत अप्रिलमा भएको विद्रोहीको बम हमलामा मारिएका थिए । सो हमलामा उनीसमेत २५ जनाको हत्या भएको थियो ।

पत्रकारको अधिकार र सुरक्षाका सम्बन्धमा अन्तर्राष्ट्रिय नेतृत्व कमजोर बन्न थालेको पाइएको छ । खासगरी जमाल खसोगीको हत्याका आरोपीलाई बचाउन शक्तिशाली राष्ट्रको मुख्य नेतृत्व क्रियाशील रहेको सिपिजेको निचोड छ । सञ्चार क्षेत्रका लागि परिस्थिति दिनदिनै प्रतिकूल हुँदै गएको छ ।

‘खसोगीको हत्याका बारेमा सबैभन्दा प्रखर रूपमा टर्कीका राष्ट्रपतिले आवाज उठाउनुभयो, तर उहाँकै सरकारले स्वतन्त्र मिडिया बन्द गराउन प्रमुख भूमिका निर्वाह गरिरहेको छ र अरू देशको भन्दा बढी पत्रकार यही देशमा बन्दी बनाइएका छन्,’ सिपिजेका इलाना बेइजरले जारी गरेको प्रतिवेदनमा भनिएको छ ।

‘विश्वव्यापी प्रेस स्वतन्त्रताको सशक्त प्रतिरक्षक ह्वाइटहाउस पनि खसोगीको हत्याबारे स्पष्ट हुन सकेको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकासँग व्यापार गर्ने राष्ट्रले पत्रकारको हत्या गर्न स्वतन्त्र रहेझैँ गरी मन्तव्य दिइरहेका छन्, जहाँ कुनै कारणको जरुरतसमेत पर्दैन,’ प्रतिवेदनमा भनिएको छ । सिपिजेले सन् २०१८ मा मारिएका अरू २३ जना पत्रकारबारे पनि अनुसन्धान गरिरहेको जनाएको छ ।