खार्पुनाथ गाउँपालिकास्थित काराङ गाउँकी चन्द्रकला शाही महिनावारी हुँदा घरनजिकैको डरलाग्दो ओडारमा रात बिताउँछिन् । खुला ओडारमा उनी एक्लै सुत्न डराएपछि सँगै सात वर्षकी छोरी काखमा सुताउने गरेको बताउँछिन् । छाउपडी प्रथा उन्मूलन अभियानमा लाग्दा आफू र एकजना अर्की महिलाले माफी माग्नुपरेको उनी सम्झिन्छिन् ।
चन्द्रकला शाही मात्रै नभएर खार्पुनाथ गाउँपालिकाको प्युस गाउँका महिला महिनावारी भएका वेला छाउगोठमा १५ देखि २० जनासम्म कोचिएर बस्दै आएका छन । ‘घरमा जाऊँ देवता रिसाउने डर, गोठमा बसौँ चिसोले मरिने पिर,’ महिनावारी हुँदा यस्तै पीडाले सताउँछ भन्छन् यहाँका महिला ।
सर्केगाड गाउँपालिकास्थित उनापानी गाउँका महिला महिनावारी भएको समयमा घरभन्दा बाहिर खुला चौरमा बस्दै आएको स्थानीय रिउचा कार्कीले बताइन् । घरभित्र बसेमा देवता लाग्ने डरले यहाँका अधिकांश महिला घरनजिकैको बारी, ओडार वा गोठमा बस्न बाध्य भएको कार्कीको भनाइ छ ।
सुरुमा ‘छाउ’ अर्थात् महिनावारी हुँदा किशोरीले लाजले घरपरिवारलाई भन्न हिचकिचाउने गरेका छन् । सीधै गोठमा बस्न गए सबैले थाहा पाउलान् भन्ने लाज, छुट्टै नबसौँ भने घरका देउता रिसाउने डर, पहिलोपटक महिनावारी हुनेलाई झन् सकस हुने गरेको यहाँका महिलाहरू बताउँछन् ।
स्वास्थ्यकर्मी नै चौरमा
महिनावारी भएको समयमा हुम्लाका अधिकांश स्वास्थ्यकर्मी नै छाउगोठ वा खुला चौरमा वास बस्ने गरेका छन् । सर्केगाड गाउँपालिका–३ स्थित उनापानी गाउँकी रामगीता फडेरा महिनावारी भएका वेला घरबाहिरको खुला चौरमा चिसो सहेर बस्न बाध्य भएकी थिइन् । ‘रजस्वला भएकी छु, यहाँको समुदायले घरभित्र राख्न मान्दैन, चौरमा नबसी कहाँ बस्नू ?,’ उनले दुखेसो पोखिन् । रामगीताका ससुराबा गाउँकै शिक्षक हुन् । घरमा स्वास्थ्यसम्बन्धी पढेलेखेका सदस्य छन् । तैपनि, उनी घरबाहिर चौरमा महिनावारी बार्न बाध्य छिन् ।
ज्यानकै जोखिम
महिनावारी र सुत्केरी हुँदा ओडार वा छाउगोठमा बस्नुपर्ने यहाँका महिलाको बाध्यता उस्तै छ । यसरी बस्दा सर्प, बिच्छीलगायत विषालु किराले डस्ने डर उत्तिकै छ । महिनावारी र सुत्केरी भएका वेला पोसिलो खानेकुरा आवश्यक हुने भए पनि हिउँदको चिसोमा कठ्यांग्रिनुपर्दा यहाँका महिलाको स्वास्थ्य झन् जोखिममा पर्ने गरेको छ । कुनै गाउँमा त महिनावारी भएकी महिलाले शौचालयमा शौच गर्नसमेत प्रतिबन्ध छ । जिल्लामा छाउपडीलगायतका कुसंस्कारविरुद्ध जनचेतना फैलाउने शिक्षक, जनप्रतिनिधि, स्वास्थ्यकर्मी र कर्मचारीले समेत महिनावारी हुँदा महिलालाई अलग राख्दै आएका छन् । नयाँ पत्रिका
नरजन तामाङ । ५ पुष २०७५, बिहीबार १०:३६