काठमाडौं ,२५ पुस । भैंसेपाटीका ४० वर्षीय रमेश श्रेष्ठलाई पठाओ र इन्ड्राइभले काठमाडौं उपत्यका घुमायो। त्यसअघि उनी एकान्तकुनासमेत कटेका थिएनन्।
पठाओबाटै प्यासेन्जर बोकेर मुस्ताङसम्म पुगेको सुनाउने उत्साहित अनुहार अचेल उति खुसी छैन।
‘म पठाओ राइडर हुँ भन्नै लाजमर्दो बनाइसके केटाहरूले,’ भन्छन्, ‘पठाओ त अहिले रक्सीले मातेका केटीहरूलाई होटल पुर्याउने र सहमतिमा यौनसम्बध राख्ने एप जस्तो बनेको छ।
घरमा श्रीमती र छोराछोरी भएका उनले नमीठो अनुभव बाँडे।
‘खै कसले हो कुन्नी, मेरी श्रीमतीलाई तिम्रो बुढो त राम्रा केटीहरू पछाडि राखेर शहर डुल्छ भनिदिएछन्। जसोतसो बुढीलाई सम्झाएँ,’ उनले थपे, ‘तर केटाहरू (अन्य पठाओ गर्ने साथी) चिया खाँदा जतिखेरै कसले कोसँग कसरी शारीरिक सम्पर्क गर्याे भनेर गफ मार्छन्।’
यी र यस्तै कुराहरू सुनेपछि उकेराकर्मी रातको समयमा विभिन्न पठाओ र इनड्राइभ राइडरहरूसँग घुम्यो। नभन्दै उनीहरूको किस्सा रमाइला अनि घतलाग्दा निस्किए। यहाँ उनीहरूको परिचय गोप्य राख्दै घटना मात्रै उल्लेख छ।
०००
समयः रातको १० बजे, ठमेलदेखि कुलेश्वर।
पठाओबाट ठमेलदेखि कुलेश्वर जाने लोकेशन राखेपछि एक युवा टीभीएस मोटरसाइकलमा आए। मोटरसाइकलको नम्बर मिलेपछि उकेराकर्मी बाइकमा बस्यो र गन्तव्यमा लाग्यो।
बीचमा कुराकानी गर्दै जाँदा उनी राति ८ बजेदेखि मध्यरात ३ बजेसम्म पठाओ चलाउने रहेछन्। ३ बजेपछि घर गएर सुत्यो। खाना खाने समयतिर उठ्यो। एक फेन्सी पसलमा दिउँसो काम गर्याे। ४ बजेतिर फेरि कलेज पढ्न गयो। कलेजबाट सिधै पठाओ चलाउने काम गर्याे।
अविवाहित पठाओ चालकको केटीसाथी(गर्लफ्रेण्ड) छिन् तर विदेशमा।
उनले सजिलो तरिकाले भने, ‘नेपाल अहिले निकै एडभान्स भइसक्यो, मेरो पनि गर्लफ्रेण्ड छ, अर्को ब्वाइफ्रेण्ड भएका केटीहरूसँग पठाओबाटै भेट हुन्छ र शारीरिक सम्पर्क हुन्छ। काम सकेपछि म मेरो बाटो, उ उसको बाटो।’
ती युवाले उत्साहित हुँदै सुनाए, ‘एकपटक त मेरो इम्ब्यारेस सेक्स पनि भयो।’ कस्तो इम्ब्यारेस भन्ने प्रश्नमा उनले घटनाको बेलिबिस्तार लगाए।
ठमेलबाटै उनले एउटी केटी यात्रु पाए। केटीको शरीर र मुखबाट रक्सीको गन्ध आइरहेको थियो। केटीको साथीको जन्मदिनको पार्टी रहेछ।
लोकेसनमा पुग्न लागेपछि केटीले आफू होस्टेलमा बस्ने र यस्तो हालतले त्यहाँ जान नसक्ने भन्दै होटल खोजिदिन आग्रह गरिन्। उनले नयाँ बसपार्क क्षेत्रमा एउटा होटल खोजिदिए।
केटीले नै होटलमा एक्लै बस्न डर लाग्ने भन्दै सँगै बस्न आग्रह गरिन्। पठाओ चालकले स्वीकारे। अट्याच बाथरुम भएको अलि भिआएपी कोठामै बस्न खोजिन्, पैसो उनैले तिर्ने भएपछि पठाओ चालक राजी भए।
दुई केटाकेटी एकै कोठामा। टेलिभिजनमा कपील शर्मा सो चलिरहेको थियो।
ती पठाओ चालकले भने, ‘मलाई इम्ब्यारेश किन लाग्यो भने, हामी सेक्स गर्दैथ्यौं, उनी भने कपिल शर्मा सो हेरेर हाँस्दै थिइन्। त्यस्तो त गर्न भएन नि! अनि म बीचमै उठेर आफ्नो बाटो लागेँ।’
०००
समयः रातको ११ बजे, चावहिलबाट कुलेश्वर।
चावहिलबाट कुलेश्वर जान उकेराकर्मीले इनड्राइभर बोलायो। स्कुटर लिएर एक युवा लोकेशनमा आइपुगे। कुराकानीको क्रममा थाहा भयो, उनी पठाओ र इनड्राइभर दुवै एप चलाउने रहेछन्। रातको समयमा पठाओ चलाउँदा जाम र अन्य सवारी साधनको झण्झट नहुने उनको भनाइ थियो।
रातको समयमा भेटिने यात्रुको रमाइला किस्सा पनि सुनाए उनले। एकपटक एक यात्रुको पर्स छुटेछ, घरमा पैसा छ, लिएर आउँछु भनेर घरभित्र छिरेका यात्रु नआएपछि आधा घण्टासम्म कुरेर फर्कनुपरेको उनले सुनाए।
पठाओकै माध्यमबाट पचासभन्दा धेरै केटीहरूसँग भेट भएको र ‘वान नाइट स्ट्याण्ड’पछि छुट्टिएको उनले खुलाए। सुरूमा कुरा गर्न हच्किए पनि विस्तारै खुले उनी।
उनले आफ्नो पहिलो ‘वान नाइट स्ट्याण्ड’बारे बताए। घटना थियो, ठमेलकै।
एक केटी यात्रुलाई लिएर उनी ठमेल गए। त्यहाँ अर्की साथी र उसको ब्वाइफ्रेण्ड पहिल्यै पुगेका रहेछन्। ‘खानपिनपछि पुर्याइदिनुपर्छ, तिमी पनि बस’ भनेर ती केटीले आग्रह गरिन्।
त्यहाँ बसेको पैसा पनि दिने र फ्रिमा खान पाइने भएपछि पठाओ चालक त्यहिँ बसे। सुरूमा मापसे नगरे पनि पछि उनीहरूकै करले बियर खाए। रातको १ बजेपछि उनीहरूले नै सल्लाह गरे- ‘घर जान सकिँदैन, होटलमा बस्ने।’
उनीहरूले नै पठाओबाट ट्याक्सी बोलाएपछि आफूहरू सुन्धाराको होटल गएकाे उनी सुनाउँछन्। दुईओटा कोठा लिइएकाेमा एउटामा ती केटीका साथीको जोडी बसे भने अर्कोमा पठाओ चालक र अर्की केटी बसिन्। दुई बीच सहमतीमै शारीरिक सम्पर्क भयो।
विहान आफूलाई केटी देखेर खुबै लाज लागेको उनले सुनाए। विहान उठेर केटीले अर्को पठाओ बोलाइदिन्। पाँच हजार पैसा पनि दिइन्। केटीले बोलाइदिएको पठाओ चढेर ती युवा ठमेल गएर स्कुटर लिएर अनि आफ्नो काममा लागे।
यसै विषयमा रिपोर्टिङ गर्ने भनेपछि एक पठाओ राइडरले उनको आफूजस्तै राइडरको समूह भएको बताए। जहाँ उनीहरूको प्रायःगफ ‘को केटी कस्तो?, कसले कतिपटक शारीरिक सम्पर्क गर्यो?’ भन्ने विषयमा हुने रहेछ।
ती राइडरले भने, ‘आफूले कम केटीसँग सेक्स गरेको छ भन्दा त कस्तो लाजमर्दो अवस्था आउँछ।’
राइडर भन्नै लाजमर्दो
यी घटना सुनिसकेपछि उकेराकर्मीले लगातार ५ दिनसम्म दिउँसोको समयमा पठाओ बुक गर्यो। दिउँसोमा पठाओ चलाउने धेरै राइडरले यसबारे सुनेको बताए।
कलंकी बस्ने ईश्वर कोइरालाले भने, ‘मैले पनि पठाओ राइडरको यस्ता कुरा सुनिरहेको हुन्छु। म मन मिले शारीरिक सम्पर्क हुनुलाई सामान्य ठान्छु, त्यसैले अचम्म लागेन।’
स्वयम्भू बस्ने एक युवकले आफूलाई पठाओ राइडर भन्नै लाज लाग्न थालेको सुनाए।
उनले भने, ‘त्यसैले म मास्क लगाएर मोटरसाइकल चलाउँछु, घरमासमेत पठाओ राइडर हो भन्ने थाहा दिएको छैन।’
वैदेशिक रोजगारीमा गएका उनी बिरामी भएपछि नेपाल फर्किएका रहेछन्। अब फेरि बिदेश जान पनि नमिल्ने भएपछि पठाओ चलाउन थालेका रहेछन्।
‘मैले पनि पठाओका ड्राइभर नराम्रो काम गर्छन् भन्ने सुनेको हो,’ उनले सुनाए, ‘म आफु त्यस्तो नभएर हो कि, अहिलेसम्म कोहिसँग पनि कुनै घटना घटेको छैन।’
कानूनसमेत स्पष्ट छैन
राइड शेयरिङ एप अर्थात आफूले चढेको सवारीमा अर्कालाई रकम लिएर चढाउने एप्लिकेसन नेपालमा केहि खुले अनि बन्द भए। तर पठाओ र इनड्राइभर पछिल्लो समय चलेका एपहरू हुन्। इनड्राइभर भित्रनु अघि टुटल पनि चल्तीमा थियो। अहिले भने पठाओलाई समेत इनड्राइभले पछि पारेको छ।
इनड्राइभर विना दर्ता चरिहेको छ तर पठाओ भने उद्योग विभागमा दर्ता भएको कम्पनी हो। अमेरिकी कम्पनी पठाओमा नेपालबाट एक लाख पचास हजार भन्दा धेरै राइड र फुड डेलिभरी हुँदै आएको तथ्यांक छ। पठाओले दुर्घटना बीमासमेत गरेको छ।
तुलनात्मक रूपमा पठाओभन्दा दर्ता नभएको इनड्राइभर सस्तो पर्ने भएकाले यात्रुको आकर्षण अहिले इनड्राइभरतिर सरेको छ। अमेरिकी कम्पनी इनड्राइभरको नेपालमा अहिलेसम्म आधिकारिक कार्यालय समेत छैन। कार्यालय सञ्चालन गरे मात्रै उद्योग विभागमा यसको दर्ता हुन्छ।
यस्ता राइडर कम्पनीहरूको जिम्मा प्रदेश सरकारको मातहतमा रहेकोे ऐनमा उल्लेख छ। त्यसैले यातायात व्यवस्था विभाग आफ्नो काम हैन भनेर कानमा तेल हालेर बसेको छ।
बागमती प्रदेश अन्तर्गतको यातायात व्यवस्था कार्यालय सानाठूला सवारी नामको कार्यालयले यसको जिम्मेवारी लिनुपर्ने हो। तर, यसका कार्यालय प्रमुख मदनप्रसाद पोखरले अहिलेसम्म कुनै पनि राइडिङ एप दर्ता नभएको बताउँछन्। उद्योग विभागमा दर्ता भएको बारेसमेत उनी अनभिज्ञ थिए।
स्पष्ट कानुनी व्यवस्था छैन, राइड सेयरङ एपको। प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७५ को दफा १३ मा गैरव्यावसायिक सवारीको सन्दर्भमा उपदफा २ बमोजिम व्यावसायिक रूपमा प्रयोग गर्न नपाइने उल्लेख छ। तर, फेरि उपदफा ४ मा भने निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र भएका सवारीले तोकिएको प्रक्रिया पूरा गरेर आफ्नो मार्गमा तोकिएको भाडामा यात्रु ओसारपसार गर्न पाउने उल्लेख छ। ऐन बने पनि नियमावली नबनेकाले कानुनी दायरामा ल्याउन समस्या परेको हो।
कार्यालय प्रमुख पोखरेलका अनुसार नियमावली अभावका कारण एपको कतैबाट निगरानी हुन सकेको छैन।
तर आर्थिक विधेयक २०७९ मार्फत बागमती प्रदेश सरकारले प्रदेशभित्र विद्युतीय सूचना प्रणालीबाट सञ्चालन गरिने राइड शेयरिङ एपमा प्रयोग भएका निजी नम्बरका सवारीसाधन भाडा लिने प्रयोजनमा प्रयोग भएमा यसलाई छुट्टै दर्ता गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ। उनका अनुसार आर्थिक मामिला मन्त्रालयले चैतसम्म यो कार्यविधि बनाउनेछ। त्यो कार्यविधिअनुसार फागुन मसान्तसम्म यातायात व्यवस्था विभागमा दर्ता हुनुपर्नेछ।
(पुस्पा थपलियाले उकेरामा लेखेको सेयर गरियको हो ।)
कर्णाली रैवार संवाददाता । २५ पुष २०७९, सोमबार १५:००