मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थी र प्रहरीबीच झडप

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय सुर्खेतमा ज्ञापनपत्र बुझाउन गएका विद्यार्थी र प्रहरीबीच आइतबार साँझ झडप भएको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहलाई ज्ञापनपत्र बुझाउन गएका इन्जिनियरिङ संकायका विद्यार्थी र प्रहरीबीच साँझ साढे सात बजे झडप हुँदा दुईजना विद्यार्थी घाइते भएका छन् ।

प्रहरीको लाठीबाट स्ववीयू सदस्य रोशन बस्नेत र तर्कबहादुर शाही घाइते भएका छन् । स्ववीयू सभापति झक्कु शाहीले ज्ञापनपत्र बुझाउन गएका विद्यार्थीमाथि उपकुलपतिको निर्देशनमा प्रहरीले कुटपिट गर्नुका साथै अश्रुग्यास प्रहार गरेको बताए । उनका अनुसार आइतबार बिहान ११ बजे विद्यार्थीहरु ज्ञापनपत्र बुझाउन केन्द्रीय कार्यालय पुगेका थिए । इन्जिनियरिङ संकायका विद्यार्थीहरु मौका परीक्षा दिन पाउनुपर्ने, नियमित कक्षा सञ्चालन गर्नुपर्नेलगायतका मागसहितको ज्ञापनपत्र बुझाउन गएका थिए । ज्ञापनपत्र बुझ्न नमानेपछि गेटमै धर्नामा बसेका विद्यार्थीहरु हटाउन प्रहरीले लाठीचार्ज गर्नुका साथै अश्रुग्यास हानेको थियो ।

प्रहरीले भने उपकुलपतिसहित कर्मचारीहरुलाई विद्यार्थीले केन्द्रीय भवनमै थुनेपछि भीड नियन्त्रण गर्नका लागि सामान्य बल प्रयोग गरेको बताएको छ ।