हुम्ला चीन–नेपाल सीमा सुरक्षामा खटिएको प्रहरीचौकी हिल्साको टोली सदरमुकाम सिमकोट फर्किएको छ ।
चिसो बढेसँगै बस्न कठिन भएको भन्दै हिल्सा प्रहरीचौकी सदरमुकाम सिमकोट फिर्ता भएको हो ।
उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाकामा रहेको प्रहरीचौकी चिसो माइनस पुगेपछि सदरमुकाम सिमकोट सारिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए ।
प्रहरी नायब निरीक्षक जंगबहादुर आलेको नेतृत्वमा रहेको १४ जनाको टोली मंगलबार सदरमुकाम सिमकोट पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक सुवेदीले बताए ।
सीमा सुरक्षामा खटिएको हिमालपारिको सुनखानीमा रहेको प्रहरीचौकी कात्तिक महिनामै सदरमुकाम सिमकोट फिर्ता भइसकेको भए पनि हिल्सा नाकामा खटिएको प्रहरीचौकी मंगलबार सीमा छोडेर जिल्ला सदरमुकाम सिमकोट पुगेको छ ।
सीमा छोडेर सदरमुकाम सिमकोट आइपुगेका प्रहरीचौकी जेठ महिनामा फिर्ता हुनेछन् ।
सशस्त्र प्रहरी हिल्सा सीमामै रहने
चीनसँग सीमा जोडिएको हुम्लाको हिल्सा नाकामा चिसो बढे पनि सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट बिओपी टोली सुरक्षामै बसेको छ ।
नाम्खा गाउँपालिका– ५ को हिल्सा नाका र चीनको सीमानाकामा सशस्त्रका निरीक्षक सुरज केसीको नेतृत्वको २२ जना टोली हिउँदको समयमा पनि हिल्सामै बस्ने भएको छ ।
सीमा सुरक्षामा खटिएको प्रहरीचौकी हिल्साबाट सारिए पनि सशस्त्र प्रहरी निरीक्षक केसीको नेतृत्वको २२ जना र १२ जना स्थानीय मात्रै हाल हिल्सा नाकामा बसेका छन् ।
नरजन तामाङ । ३ मंसिर २०७७, बुधबार १५:१०