हुम्लामा पहिरोले ६ सय परिवार बिचल्लीमा, पाएनन् सहयोग

ताजाँकोट गाउँपालिकामा बाढीपहिरोबाट करिब ६ सय परिवार बिचल्लीमा परेका छन् । उनीहरूलाई गाउँपालिकाले दिएको दुई थान त्रिपाल र प्रदेश सरकारले केही थान कम्बल उपलब्ध गराएकोबाहेक केही सहयोग अहिलेसम्म पुग्न सकेको छैन ।

पहिरोले घर र जायजेथा बगाएपछि उनीहरू अहिले खुला चौरमा त्रिपाल टाँगेर बस्न बाध्य छन् । केही पीडित सहारा लिएर आफान्तका घरमा बसेका छन् ।

गत ३१ र ३२ साउनमा भीषण पहिरो आउँदा छप्रेला बजार, उतिसेनी भदालदिपु, गल्लावाडा, खर्रा, देउला गैरा, चौतारीबाडा, भियालवाडा, काउलामगडा, सात्ती सेरी, भदौरा लुटपाटालगायतका स्थानका स्थानीयको बिचल्ली भएको गाउँपालिकाले जनाएको छ ।

ताजाँकोट गाउँपालिकामा ६ सय २ परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

पहिरोले ५० घर पूर्ण रूपमा क्षति गरेको छ भने एक सय ५८ भन्दा बढी घरधुरी उच्च जोखिम रहेको जिल्ला प्रहरी हुम्लाको तथ्यांकमा उल्लेख छ ।

विस्थापित परिवारहरू छप्रेलाको हेलिप्याड, वडा नम्बर ४ को भगारे, वडा नम्बरको ५ कैलाशदेव विद्यालयमा त्रिपाल टाँगेर बसेको गाउँपालिका उपाध्यक्ष मञ्जु बुढाले बताइन् ।

उनीहरूको घर–जग्गा, सम्पत्ति अन्नबाली केही नभएको र पहिरोबाट विस्थापित परिवार बिजोग अवस्था रहेको उपाध्यक्ष बुढाले बताइन् ।
पहिरोले विस्थापित ताजाँकोट गाउँपालिकाका विस्थापितलाई दैनिक गुजारा गर्न कठिनाइ भएको छ ।

पानी परेर त्रिपाल चुहिएर जमिन भिजेकाले रातदिन कटाउन धौधौ भएको स्थानीय जयधन सार्कीले गुनासो गरे ।

गाउँपालिकाले २–२ थान त्रिपाल राहत गरेपछि त्यही पाल टाँगेर बालबच्चासँग दिन कटाउँदै आएको अर्को स्थानीय मनवीरे सार्कीको दुखेसो रहेको छ ।

बाढीले ६ सय परिवार विस्थापित भए पनि जिल्ला विपत् व्यवस्थापन समिति हुम्ला यस विषयमा बेखबर देखिएको छ । जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक रहेका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले प्रतिक्रिया दिन नै मानेनन् ।