कर्णाली प्रदेशमा चार बालबालिकासहित ४३ जनामा देखियो कोरोना संक्रमण

कर्णाली प्रदेशमा बुधबार चार बालबालिकासहित ४३ जनामा कोरोना संक्रमण देखिएको छ ।

बुधबार कर्णालीका चारवटा प्रयोगशालामा चार सय ८१ जनाको स्वाब परीक्षणमा चार बालबालिकासहित ४३ जनामा कोरोना संक्रमण देखिएको हो ।

सल्यान वनगाड कुपिण्डे नगरपालिका– १ का १० महिनाका बालक, तीन वर्षका बालिका, दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका– ३ का दुई वर्षका बालक र सुर्खेत चौकुने गाउँपालिका– ५ का चार वर्षकी बालिका रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीले बताए ।

बुधबार कर्णालीमा सबैभन्दा बढी सल्यान जिल्लामा १७ जना, सुर्खेतमा १० जना, जुम्ला नौजना, दैलेखमा चारजना, बाँके, कास्की र डोल्पा जिल्लाका एक–एकजना रहेको महाशाखा प्रमुख शाहीले बताए ।

‘बुधबार कर्णालीमा ४३ जनामा कोरोना पुष्टि भएको छ,’ उनले भने, ‘कर्णाली कोरोना संक्रमितको संख्या दुई हजार एक सय ३० पुगेको छ ।’

कर्णालीमा पछिल्ला २४ घन्टामा एकजना पनि कोरोना संक्रमण निको भएर डिस्चार्ज नभएको हालसम्म एक हजार नौ सय ३२ जना डिस्चार्ज भएको शाहीले बताए ।

हाल कर्णालीमा कोरोना सक्रिय बिरामी एक सय ९२ रहेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।