हुम्लाको खार्पुनाथ गाउँपालिका– १ थुमस्थित मालिका देवीको मन्दिर पूर्वाधार र संरक्षण अभावमा ओझेलमा परेको छ ।समुद्री सतहदेखि चार हजार पाँच सय मिटरको उचाइमा अवस्थित यस मन्दिरलाई मनकामना देवीको रूपमा पूजा गर्ने चलन छ ।
यस मन्दिरको दर्शन गरे मनले सोचेका इच्छा–आकांक्षा पूरा हुने विश्वास रहेको खार्पुनाथ गाउँपालिका– १ की स्थानीय भावना शाहीले बताइन् । मालिका देवी दर्शन गर्न जिल्लाका विभिन्न स्थानहरूबाट दर्शनार्थी आउने गरेको शाहीको भनाइ छ ।
विशेषगरी मालिका देवीको मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीले सन्तान, पशुचौपाया, धनसम्पत्तिलगायत इच्छाएको कुरा माग्दा पूरा हुने विश्वास रहेको छ । जनैपूर्णिमाको पाँच दिनपछि अर्थात् पञ्चमीको दिन यस मन्दिरमा विशेष गरी भक्तजनहरूको बढी भिड लाग्ने गर्छ ।
प्रचार–प्रसारको अभावले यो ऐतिहासिक मन्दिर सदियौँदेखि ओझेलमा परेको स्थानीय लालबहादुर शाहीको गुनासो छ । यस मन्दिरको दर्शन गर्न आउने दर्शनार्थीलाई खानेपानी र वासको समेत समस्या हुने गरेको छ ।
मालिका क्षेत्रलाई पर्यटकीय स्थलका रूपमा विकास गर्न सम्बन्धित सरोकारावाला निकायले चिन्ता र चासो नदेखाएपछि याे मन्दिर ओझेल पर्दै गएको स्थानीयको गुनासो छ ।
मारगोर हुँदै मालिकासम्म पदमार्ग, पूर्वाधारको निर्माण र खानेपानीको व्यवस्थापन गर्न सके यहाँ धार्मिक पर्यटकहरू भित्र्याउन सकिने प्रचुर सम्भावना रहेको छ।
नरजन तामाङ । २९ श्रावण २०७७, बिहीबार ११:४९