गाउँपालिकाले चासो नदेखाएपछि जीर्ण काठेपुलबाट जोखिम मोलेर आवतजावत गर्ने बाध्य

हुम्लाको चंखेली गाउँपालिका-५ नम्बर वडाका पशुपालक कृषकहरु पक्कि पुलको अभावमा काठेपुलको जोखिम मोलेरै लेकतिर जाने गरेका छन् ।

गाईवस्तु चरिचरण गर्ने ठाउँ भनेकै टाँके लेक भएकाले किसानहरु त्यो ठाउँमा पुग्न जिर्ण काठेपुलको प्रयोग गर्न वाध्य छन् । चीनको सीमासँग जोडिएको टाँकेनाका पुग्न दर्जनौ काठेपुल जोखिम मोलेर आवतजावत गर्नु पर्छ ।

जेठ असार महिना लाग्ने बित्तिकै गाईवस्तु भेडाबाख्रा पालनपोषण गर्ने त्यहाँका पशुपालक कृषक ६ महिना टाँकेलेक जाने गरेको चंखेली गाउँपालिका–५ नेप्का स्थानीय धनबहादुर तामाङले जानकारी दिए ।

स्थायी पुल नहुँदा वर्षा आउने बितिकै काठेपुल खोलाले बगाएर लगेपछि आफुहरुलाई समस्या हुने गरेको पशुपालक कृषकहरुले बताउने गरेका छन् । पक्की पुल निर्माण गर्न गाउँपालिकाले केही चासो नदेखाएपछि वर्षोदेखि काठेपुलको जोखिम मोलेर आवतजावत गर्ने बाध्य भएको स्थानीयहरुले गुनासो गदै आएका छन् ।-