कालिकोट टिपर दुर्घटनाका मृतक, घाइते र बेपत्ताको पहिचान खुल्यो

कालिकोटको लालीघाटमा भएको टिपर दुर्घटनामा परी मृत्यु भएकाहरूकाे सनाखत भएको छ । मृत्यु हुनेमा कालिकोट जिल्ला रास्कोट नगरपालिका– २ का २१ वर्षीया ठुम्की सार्की र २३ वर्षीया शर्मिला सार्की रहेकाे जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख श्यामबाबु ओलियाले बताए ।

दुर्घटनामा परेर ६ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा रास्कोट नगरपालिकाका सोविन्द्र सार्की, धीर सार्की, कुल सार्की, कमर सार्की, धनरुपा सार्की र प्रकाश सार्की छन् ।बेपत्ता भएकाहरूको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीले खोजी कार्य जारी राखेको छ ।

दुर्घटनामा नाैजना घाइते भएका छन् । घाइते हुनेमा रास्कोट नगरपालिकाका अनिता सार्की, सपना सार्की, गोविन्द सार्की, मीना सार्की, कमला सार्की, देवराज सार्की, पूजा सार्की, विवेक सार्की, निस्पता सार्की रहेका छन् । उनीहरूको उपचार जिल्ला अस्पताल कालिकोटमा भइरहेको प्रहरीले जनाएको छ । २२ जनाको भने सकुशल उद्धार गरिएको छ । ३९ जना यात्रु सवार रहेको ना.८ख ५१३३ को टिपर कर्णाली नदीमा खसेर दुर्घटना भएको हो ।  #कालिकोट टिपर दुर्घटना # डिजिटल संस्करण Naya patrika