मन्त्रिपरिषदबाट स्वीकृत नयाँ नक्सा अब कसरी हुन्छ जारी ?

भूमि व्यवस्था मन्त्रालयले तयार पारेको भारतद्वारा अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सालाई मन्त्रिपरिषद्‍ले स्वीकृत गरेको छ ।

साेमबार साँझ बसेकाे मन्त्रिपरिषद्काे बैठकले नयाँ नक्सा स्वीकृत गरेकाे हाे ।

कृषिमन्त्री घनश्याम भुसालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा पारित भएको बताए ।

आइतवारको मनित्रपरिषद् बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले तयार पारेको नयाँ नक्शा मन्त्रिपरिषद्को बैठकमा पेश भएको थियो ।

नयाँ नक्सा पारित गर्ने निर्णयलार्य प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक भनेका छन् ।

मन्त्री भुसालले निर्णयका लागि प्रधानमन्त्री मनित्रपरिषद्का सदस्यलाई धन्यवादसमेत दिएका छन् ।

औपचारिक रुपमा नक्सा कहिले सार्वजनिक गर्ने भन्ने निर्णय भएको छैन् ।

मन्त्री भुसालले यसका लागि आबश्यक कानूनहरु संसोधन गरिने बताए ।

नेपाली नागरिकले कालापानी, लिम्पियाधुरा र लिपुलेकलगायतको स्थानको मालपोत तिरेको, ती स्थानमा जनगणनासमेत भएको आधारमा पनि ती भूमि नेपालको रहेको तथ्य छन् ।

यसैका आधारमा नेपालले नक्सा जारी गर्नसक्ने राजनीतिक दल र विज्ञहरुको भनाई थियो ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिपरिषद्को निर्णयलगत्तै सामाजिक संजालमा संसदले ग्रहण गरेर नक्सा जारी गर्नुपर्ने बताएका छन् ।

उनले लेखेका छन्, लिम्पियाधुरा सहितको नेपाल नक्सा तयारगरी स्विकृत गरेकोमा नेपाल सरकारलाई धन्यवाद । अव नक्सालाई संसदले ग्रहणगरी सार्वजनिक गर्नुपर्छ ।

तर, नक्सा जारी गर्नुअगाडि भारत र चीनसँग संवाद गर्न पनि सरकारलाई सुझाव छ ।

भारतले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रसमेटेर नक्सा कार्तिक १६ मा जारी गरेको थियो ।

सरकारले २० कात्तिकमा प्रेस विज्ञप्तिमार्फत कालापानी क्षेत्र नेपालको भू–भाग भएको स्पष्ट पारेको थियो ।

भारतले २६ बैशाख नेपाली भूभाग व्यास र गुन्जी हुँदै लिपुलेकसम्मको सडकमार्गसमेत उद्घाटन गरेपछि यो विषयमा नयाँ बहस शुरु भएको थियो ।

नेकपाले साढे तीन महिना अगाडि नै सरकारलाई नक्सा जारी गर्न सुझाव दिएको थियो ।

सरकारमाथि भारतले मिचेको नेपाली भूमि समेटेर नक्सा जारी गर्न सत्तारुढ दल नेकपा, संसदका समितिहरु, विपक्षी दल तथा नागरिक समाजले दबाब दिँदै आएका थिए ।

भारतले ८५ बर्षदेखि नेपाली भूमि कब्जा गरेर राखेको छ ।

त्यहाँ भारतीय फौज बसेको छ ।

नेपालको कालापानी समेटेर भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि राजनीतिक टीका–टिप्पणीको दोहोरी चले पनि सिमानाका विषयमा कूटनीतिक संवाद भएको छैन ।

२० कात्तिकमा परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत नेपालको कालापानीलाई भारतीय नक्सामा राख्ने निर्णय मान्य नभएको भन्दै विज्ञप्ति जारी गरेको थियो ।

२१ कात्तिकमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविस कुमारले नयाँ नक्सामा भारतको सम्प्रभु क्षेत्र दर्शाएको, तर नेपालतर्फ नक्सा परिवर्तन नभएको प्रतिक्रिया दिएका थिए ।

प्रधानमन्त्री ओलीले २३ कात्तिकमा सर्वदलीय बैठक आयोजना गरेर सबै पक्षको सुझाब लिए । सबै दलका नेता, पूर्वप्रधानमन्त्री र विज्ञले कालापानीबारे भारतसँग कूटनीतिक वार्ता गर्न सुझाब दिएका थिए ।

सर्वपक्षीय छलफलको निष्कर्ष र परराष्ट्र मन्त्रालयको आधिकारिक वक्तव्यका आधारमा २५ कात्तिकमा भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले दिल्लीस्थित साउथ ब्लकमा विदेशसचिव विजयकेशव गोखलेलाई भेटेर वार्ताका लागि नेपालको चासो प्रस्तुत गरे ।

प्रधानमन्त्री ओलीले १ मंसिरमा युवा संघको कार्यक्रममा कालापनीबाट फौज फिर्ता गर्न भारतलाई आग्रह गरे ।

ओलीको जवाफमा भारतको उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतले ३ मंसिरमा कालापानी भारतको भएको जिकिर गरे ।

सरकारले ५ मंसिरमा परराष्ट्रमार्फत कूटनीतिक नोट पठाएर वार्ताका लागि आग्रह ग¥यो । एक महिनाको समयसीमा राखेर पठाएको पत्रको जवाफ नआएपछि परराष्ट्र मन्त्रालयले पुनः चिठी पठायो ।

भारतले उपयुक्त मितिमा बैठक बस्ने जवाफसहितको पत्र पठायो । त्यो ‘उपयुक्त’ समय अहिलेसम्म आएको छैन ।

पछिल्लो पटक २ जेठमा भारतका स्थलसेनाध्यक्ष मणिमुकुन्द नरवणेले त नेपालमा ‘अरू कसैका लागि’ लिपुलेक क्षेत्रमा निर्माण गरिएको भारतीय सडकको विरोध भएको टिप्पणी गरेका थिए ।

भारतले नयाँ नक्सा जारी गरेपछि कुटनीतिक संवादमार्फत समस्या हल गर्ने नेपालको कोशिष रहेपनि भारतीयपक्षले यसलाई धकेल्दै आएको छ ।

उसले पछिल्लो पटक कोरोनापछि संवाद गर्ने प्रतिक्रिया दिएको छ ।

नक्सा जारी गर्ने मन्त्रिपरिपषद्को निर्णय ईतिहासको पानामा स्वर्ण अक्षरले लेखिनेछ

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले लिम्पियाधुरासम्मको भारतबाट अतिक्रमित नेपाली भूमि समेटेर नक्सा जारी गर्ने मन्त्रिपरिषद्को निर्णय इतिहासमा स्वर्ण अक्षरले लेखिने बताएका छन् ।

बैठकलगत्तै सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै मन्त्री भट्टराईले त्यस्तो बताएका हुन् ।

‘आज नेपाल सरकारको मन्त्रिपरिसदको निर्णय ठ इतिहासको पन्नामा सुवर्ण अक्षरले त लेखिनेनै छ । आजको मिति र निर्णय युग युगसम्म हाजिरीजवाफमा सोधिने प्रश्नका रुपमा पनि अमर भाईरहने छ । धन्यवाद प्रम केपी शर्मा ओली’ भट्टराईले सामाजिक सञ्जालमा भनेका छन् ।

नीति तथा कार्यक्रमपछि मन्त्रिपरिष्दको निर्णय

सरकारले आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत भारतले मिचेको कालापानी, लिपुलेक र लिम्पियाधुरासम्म समेटिएको नेपालको नक्सा जारी गर्ने घोषणा गरेको थियो ।

राष्ट्रपति विद्या भण्डारीले संसदको संयुक्त बैठकमा भारतले मिचेको नेपाली भूमि समेटेर नेपालको अर्को नक्सा जारी हुने सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै घोषणा गरेकी थिइन् ।

‘नेपाल सरकार नेपालको अन्तराष्ट्रिय सीमाको सुरक्षा र संरक्षण गर्न प्रतिबद्ध छ । अन्तर्राष्ट्रिय सीमा निरिक्षणको कार्यलाई निरन्तरता दिइनेछ । ऐतिहासिक सन्धी, नक्सा, तथ्य तथा प्रमाणका आधारमा कुटनीतिक माध्यमबाट मित्रराष्ट्र भारतसँगको सीमा सम्बन्धमा विगत लामो समयदेखि बाँकी रहेका र समय समयमा उठिरहेका विषयहरुको समाधान गरिनेछ’, नीति तथा कार्यक्रममा छ,‘लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि हो र त्यसलाई प्राप्त गर्न ठोस कुटनीतिक पहल गरिनेछ । तदनुरुप नै छुटेको भूमिसमेत समावेश गरी नेपालको नक्सा जारी गरिनेछ ।’

##मन्त्रिपरिषद # नयाँ नक्सा