हुम्लाको नाम्खामा कोरोनाको जोखिमबाट बच्न भन्दै पुल नै बन्द

हुम्ला  कोरोना भाइरस (कोभिड– १९)को संक्रमणको जोखिमबाट जोगिन भन्दै हुम्लाको नाम्खा गाउँपालिका– ३ का स्थानीयले टुक्सोखोल्मु पुल नै बन्द गरेका छन् ।

अपरिचित व्यक्तिलाई गाउँमा छिर्न नदिन भन्दै उनीहरूले मुख्य पुल नै बन्द गरेका हुन् । कोरोना भाइरस संक्रमणको जोखिम बढ्ने भयले स्थानीय युवा पालो मिलाएर पुलमा २४सै घन्टा ड्युटीमा समेत खटिने गरेको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिए । नाम्खा– ३ को खगालगाउँनजिकै टुक्सोखोल्मु पुल र लामाखोल्सीमा गाउँका युवाले पालो मिलाएर ड्युटी गर्ने गरेको उनले बताए ।

कोरोना भाइरस संक्रमणको जोखिमबाट जोगिन गाउँपालिकाले आवतजावत रोक्नुका साथै लकडाउनको उल्लंघन गरी गाउँ प्रवेश गरे जरिवाना तिराउनेसमेत निर्णय गरेको छ । जनप्रतिनिधिको संयुक्त बैठकले सीमाबाट आवतजावत गरेको पाइए २५ हजार रुपैयाँ जरिवानासहित सम्बन्धित व्यक्तिकै खर्चमा १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने निर्णयसमेत गरेको गाउँपालिका अध्यक्ष लामाले बताए । उनले लकडाउनको पूर्णपालना गर्न पनि अनुरोध गरेका छन् ।

 

#लकडाउन # पुल बन्द