क्वारेन्टाइनमा बसेका १३ जनालाई १४ दिनको अवधि नपुग्दै घर फर्काइयो ।

नन्द सिंह     जिल्ला सदरमुकाम सिमकोट स्थित रानीवनमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका १३ जनालाई १४ दिनको अवधि नपुग्दै बैशाख १ गते घर फर्काइएको छ ।
सिमकोट गाउँपालिका वडा नम्वर ३ का एक जना, वडा नम्वर ५ का तीन जना र ७ का नौ जना गरि जम्मा १३ जनालाई आ आफ्नो घर पठाइएको सिमकोट स्थित रानीवन क्वारेन्टाइन स्थलका सुचना अधिकारी परजित बोहराले बताउनु भएको छ ।

सोमबार घर फर्काइएका व्यक्तिहरुलाई वडा नम्वर ३ का अध्यक्ष ताक्ला जिक्मेत लामा, ५ का कृष्ण बोहरा र वडा नम्वर ७ का वडा सदस्य इसरा सिंहको रोहोवरमा घर पठाइएको सुचना अधिकारी बोहराको भनाई छ ।

तर सोही क्वारेन्टाइनबाट केही दिन अघि १० जना व्यक्तिहरुलाई १४ दिनको अवधि पुगाएर घर पठाइएको थियो भने यतिखेर सिमकोट गाउँपालिकाका तीन जना जनप्रतिनिधिहरुले १० दिन रानीवन क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई थप सात दिन होमक्वारेन्टाइनमा राख्ने भनेर लगिएको जानकारी प्राप्त भएको छ ।

उनिहरु नेपालगन्ज, सुर्खेत लगायतका सहरबाट मुगु जिल्लाको गमगडी हुँदै हुम्ला आई पुगेका थिए । आजै घर फर्किएका व्यक्तिहरुलाई जिल्ला भित्रिने विभिन्न सिमा नाकाहरुका हेल्थ डेक्समा चेकजाँच गरिएकोे र क्वारेन्टाइनमा बस्दा स्वास्थ्यमा केही समस्या नदेखिएपछि घर फर्काइएको सुचना अधिकारी बोहराको भनाई छ ।

हाल जिल्ला सदरमुकाम सिमकोटका दुई वटा क्वारेन्टाइनमा अव जम्मा १० जना र सदरमुकाम भन्दा बाहिरका क्वारेन्टाइनमा ५५ जना बाँकी रहेका छन भने होमक्वारेन्टाइनमा १९ जना व्यक्तिहरु बस्दै आएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी रामप्रसाद घर्तिमगरले बताउनु भएको छ ।

स्वास्थ्य चेकजाँच गरेर क्वारेन्टाइनबाट उनीहरूलाई घर फर्काएको हो । जिल्लाका सातवटै स्थानीय तहमा ८ सय ७४ जना जिल्ला भित्रिए पनि हाल ६५ जना मात्र क्वारेन्टाइनमा बसेका छन् ।