चार लाखको औषधि ल्याउन साढे सात लाखमा हेलिकोप्टर चार्टर

डोल्पाको एक गाउँपालिकाले महँगो मूल्यमा हेलिकोप्टर चार्टर गरेर औषधि पुर्‍याएको छ । उत्तरी डोल्पामा पर्ने शे–फोक्सुण्डो गाउँपालिकाले चार लाख रुपैयाँबराबरका औषधि सात लाख पच्चीस हजारमा कैलाश एयरको हेलिकोप्टर चार्टर गरेर औषधि र उपकरणहरू गाउँपालिकाको केन्द्रमा पुर्‍याएको हो ।

संघीय राजधानी काठमाडौंबाट सीधै हेलिकोप्टर चार्टर गरेर मास्क, सेनिटाइजर, साबुन, क्वारेन्टाइन व्यवस्थापनका लागि आवश्यक ब्लाङ्केट, म्याट, अक्सिजन कन्सटेटर, अन्य औषधि र उपकरण गाउँपालिकाको केन्द्र साल्दाङ पुर्‍याइएको स्वास्थ्यचौकी इन्चार्ज (एच.ए.) निमादार्के गुरुङले बताए ।

हेलिकोप्टरमा करिब ३ क्विन्टलभन्दा धेरै औषधि र उपकरण साल्दाङ पुर्‍याइएको हो । उक्त परिमाणको औषधि उपकरणलगायतका स्वास्थ्य सामग्रीहरू उपल्लो डोल्पासम्म पुर्‍याउन प्रतिकिलो २ हजार चार सय रुपैयाँ परेको छ । जहाजमा नेपालगन्ज विमानस्थलदेखि जुफालसम्म एक सय दश रुपैयाँ प्रतिकिलो र सडकमार्गबाट दुनैसम्मको प्रन्ध्रदेखि बीस रुपैयाँसम्म प्रतिकिलोमा सामग्री ढुवानी हुने गर्दछ ।

सरकारले घोषणा गरेको लकडाउनका कारण यतिखेर जहाज र गाडी दुवै बन्द भएका छन् । विश्वभर फैलिरहेको कोरोना भाइरसविरुद्धको पूर्वसतर्कताका लागि गाउँपालिकाले ७ लाख पच्चीस हजार खर्चमा हेलिकोप्टर चार्टर गरेर सर्वसाधारणका लागि औषधि उपकरणलगायतका स्वास्थ्य सामग्री ढुवानी गरेको गाउँपालिका अध्यक्ष टासीटुन्डुप गुरुङले बताए ।