शैक्षिक भ्रमणको रोजाइमा लडेदह

हुम्लाको सिमकोट गाउँपालिकामा अवस्थित लडेदह शैक्षिक भ्रमणको रोजाई बन्न थालेको छ । सिमकोट गाउँपालिकाको उत्तरमा अवस्थित लडेदहमा जिल्लाका मानसरोवर माध्यामिक विद्यालय, बालमन्दिर विद्यालयले शैक्षिक भम्रणमा लडेदह रोज्ने गरेका छन् ।

शैक्षिक रोजाई मात्रै नभई आन्तरिक तथा बाह्य पर्यटकहरु एक दिन पैदल यात्रामा घुम्न जाने गरेको पाइन्छ । लडेदहमा दिनहुँ जसो भम्रण र जनकारी लिन लडेदह पुग्ने गरेका छन । शैक्षिक अध्ययन र मनोरम दृश्यावलोकनको लागि लडेदह प्रचलित रहेको छ । केही वर्ष पहिला लडेदह जाने पर्यटकको संख्या न्युन रहेपनि यो वर्ष अत्याधिक पर्यटकहरुको आगमन बढेको छ । सार्वजनिक बिदामा प्रकृतिप्रति रमाउनका लागि अधिकांश कर्मचारी र पर्यटकको रोजाई बनेको छ लडेदह ।

६ घण्टापछि पुगिन्छ लडेदह
सदरमुकाम सिमकोटबाट ६ घण्टा उकालो छिचोलेपछि लडेदह पुग्न सकिन्छ । लडेदह यात्रा गर्न सहज बाटो निर्माण भएको भएपनि दह पुग्नको लागि मनोरम दृश्यले गर्दा पर्यटकलाई थकाइको महसुस नहुने गरेको मानसरोवर माध्यामिक विद्यालयका शिक्षक शिव शर्मा पौडयालले बताए । जडीबुटी, अनौठा र सुन्दर फूलहरु अर्को आर्कषणको मुख्य केन्द्रबिन्दु रहेको उनको भनाई छ । आसपासमा कटुकी, जटामासी, मासिजडा, बाजरी, सुगन्धवाल जस्ता बहुमूल्य जडिबुटीको भण्डारण स्थलको रुपमा यस स्थललाई मान्न सकिन्छ । सिमकोट गाउँपालिकाको उत्तरमा अवस्थित लडेदह ४ हजार ३ सय मिटर उचाईमा रहेको छ ।

घुम्न उपयुक्त समय
लडेदह र हिमश्रृंखालको मनोराम दृश्य हेर्नको लागि वैशाख महिनाको सुरुदेखि जेठ महिनाको अत्त्यसम्म राम्रो समय हो ।

असारदेखि साउनको दोस्रो हप्तासम्म अत्याधिक वर्षाको कारणले तालमा पानीको बहाव धेरै भएपनि नजिकै रहेका हिमालका दृश्यवलोकनमा हुस्सु र कुहिरोले छोप्ने गर्दछ । ठाउँ-ठाउँमा जुमा, चौंरी र गाईवस्तुका खर्क अर्को आकर्षण हो ।