जिल्ला अस्पताल कालिकोट प्रदेश सरकार मातहत ल्याइयो

जिल्ला अस्पताल कालिकोट कर्णाली प्रदेश सरकारको मातहतमा हस्तारण गरिएको छ । बिहीबार एक औपचारिक कार्यक्रमबीच जिल्ला अस्पताल कालिकोटलाई प्रदेश सरकार मातहत रहने गरी हस्तारण गरिएको हो ।

केन्द्र सरकारको निर्णयअनुसार ७७ जिल्लाका जिल्ला अस्पतालहरुलाई प्रदेश सरकार मातहत सञ्चालन गर्ने निर्णय अनुसार जिल्ला अस्पताल कालिकोटलाई प्रदेश सरकार माहतहतमा लगिएको हो ।

कर्णाली भौगोलिक रुपमा विकट रहेकाले स्वास्थ्य सेवाबाट बञ्चित नागरिकलाई प्रभावकारी सेवा पुर्‍याउन स्थानीय तहमा अस्पताल सञ्चालन गर्ने अवधारणा अनुसार प्रदेश सरकार मातहतमा ल्याइएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव डा. मानबहादुर बिकले बताए ।

‘ग्रामिण क्षेत्रमा बस्ने नागरिकहरुलाई सुरुमा आवश्यक पर्ने प्राथमिक स्वास्थ्य सेवा पुर्‍याउन प्रदेश सरकार तयार छ ।’ उनले भने,‘प्रदेश सरकारले नागरिकको स्वास्थ्यमा पहुँच पुर्‍याउन सबै प्रकार काम गर्न तयार छ ।’

जिल्ला अस्पतालमा स्वास्थ्य सेवाको सहज पहुँच नभएको उपकरणको समस्या रहेकोले त्यसको व्यवस्था तत्काल गरिनुपर्ने र जनसंख्याका आधारमा १५ शैय्याको जिल्ला अस्पताललाई ५० शैय्याको अस्पतालका विकास गर्न पहल थालिने प्रदेश सांसद कुर्मराज साहीले बताए ।

‘जनसंख्याका हिसाबले कालिकोटका धरै रहेको छ ।’ उनले भने,‘कालिकोट, अछाम र दैलेखको बीचमा अस्पताल रहेकाले पनि यो अस्पताललाई ५० शैय्यामा विकास गर्न पहल थालिने छ ।’