दुर्घटनाग्रस्त तारा एयरको जहाज उडाउनका लागि जुम्ला विमानस्थल थप एक सातासम्म खुल्ला गरिने भएको छ । विमानस्थलको स्तरोन्नतीका लागि ८ कार्तिकदेखि जुम्ला विमानस्थल बन्द गर्ने सूचना सार्वजनिक गरिएको थियो ।
संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीले जूम्लास्थित डुंडुल चैत्यको उद्घाटन गर्न निजी जहाज ल्याएर विमानस्थलमा अवतरण गराएपछि स्थानीयले चर्को विरोध गरेका थिए । स्थानीयले चर्को विरोध गरेपछि एक साताका लागि खुला गरिएको जुम्ला विमानस्थल फेरी एक साता थप्ने गरी खुला गरिएको हो ।
नागरिक उड्ययन प्राधिकरणले दुर्घटनाग्रस्त जहाज उडाउन्जेलसम्मका लागि विमानस्थल खुल्ला गर्न निर्देशन गरेको थियो । निर्देशनपछि २४ कार्तिकसम्मका लागि विमानस्थल खुला गरिएको जुम्ला विमानस्थल प्रमुख कैलाश शर्माले बतए । ‘झण्डै एक महिनादेखि जुम्लामा दुर्घटनाग्रस्त तारा एयरको जहाजको मर्मत भइरहेको छ, अब दुई चार दिनमै मर्मतको काम सकिन्छ’, उनले भने ।
तर विमानस्थल पटक पटक खुलाउने र बन्द गर्ने निर्णयले सवैलाई अन्यौल बनाएको छ । यहाँ नियमित रुपमा चल्ने हवाई जहाजका कम्पनीदेखि सर्वसाधारणलाई अन्यौल बनाएको स्थानीय बताए । चिसो समयमा सिमेन्टको काम नहुने भएकाले छिटो भन्दा छिटो विमानस्थलको स्तरोन्नती गर्ने लक्ष्य लिइएको छ । तारा एयरको जहाज झण्डै ६ महिना अघि दुर्घटना भएको थियो ।
कर्णाली रैवार संवाददाता । २२ कार्तिक २०७५, बिहीबार २२:१४