करिडोरको हुम्ला खण्डमा पर्ने नाम्खा गाउँपालिकाको हिल्सादेखि केर्र्मीसम्म ७४ किलोमिटर, सदरमुकाम सिमकोटदेखि खार्पुनाथ गाउँपालिकाको खार्पुनाथसम्म ११ किलोमिटर र सर्केगार्ड गाउँपालिकाको सर्केगाडदेखि सलिसल्लासम्म ११ किलोमिटरमा गाडी चल्ने गरेको छ ।
चीनको सीमा नाका हिल्सादेखि नाम्खा गाउँपालिकाको ढाँणकेर्मीसम्मको ७४ किलोमिटर सडकमा दुई दर्जनभन्दा बढी गाडी चल्ने गरेको सिमकोट–हिल्सा सडक आयोजनाका निमित्त प्रमुख अभिशेक राईले बताए ।हिल्सासम्म ९५ किमिमध्ये ९२.५ किमि ट्र्याक खुलेको छ । च्याछडा भिर फुटाउन ढिलाइ भएकाले २.५ किमि ट्र्याक खोल्न बाँकी छ । त्यो ट्र्याक खुलेसँगै सिमकोटसम्म गाडी चल्न सक्ने उनले बताए ।
अहिले यो सडकमा चीनको तिब्बतबाट ल्याएका गाडी चल्ने गरेका छन् । गाडी सञ्चालनका लागि ‘रुट परमिट’ दिइएको छैन । यो क्षेत्रमा सबै गाडी अवैधानिक रूपमा सञ्चालन भइरहेको आयोजना प्रमुख राईले बताए । त्यस्तै, सिमकोटदेखि खार्पुनाथसम्मको ११ किलोमिटर सडकमा पनि नियमित गाडी सञ्चालन भइरहेका छन् । विकेन्द्रित ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन सुधार कार्यक्रमले ट्र्याक खोलेको यो सडकमा पनि जिप र ट्र्याक्टर गरी एक दर्जनभन्दा बढी सवारीसाधन सञ्चालनमा छन् । यो सडकमा पनि गाडी सञ्चालनका लागि अनुमति नदिइएको आयोजनाले जनाएको छ ।
चीनसँग जोडिन च्याछडा भिर अवरोध
हुम्ला सदरमुकाम सिमकोटलाई चीनसँग जोड्न ९५ किलोमिटर सडकमध्ये ९२.५ किलोमिटरमा ट्र्याक खुलिसकेको छ । बाँकी २.५ किलोमिटर सडकमा च्याछडा भिर रहेको छ । यो भिर फुटाउन कठिनाइ भएको आयोजनाले जनाएको छ । एकातिर संघीय सरकारले पर्याप्त बजेट विनियोजन गर्ने गरेको छैन भने अर्कातिर विस्फोटक पदार्थको अभावले भिर छिचोल्न समस्या भएको जनाएको छ । विस्फोटक पदार्थ सेनासँग मात्रै छ । सेनासँग खरिद गरे पनि त्यहाँ पु-याउन समस्या हुने गरेको छ ।
सेनाले नै ढुवानी गर्ने र त्यसको सुरक्षा गर्ने भएको छ । तर, समयमा पूरा गर्ने गरेको छैन । जसका कारण २२ वर्ष बितिसक्दा पनि ९५ किलोमिटर सडकको ट्र्याक खुल्न नसकेको स्थानीय बासिन्दा गुनासो गर्छन् । तत्कालीन जिल्ला विकास समितिले ०५४ मा सडकको सुरुवात गरेको थियो । त्यसलाई पछि विश्व खाद्य कार्यक्रमले सघाएको थियो ।
जयबहादुर रोकाया । १० श्रावण २०७६, शुक्रबार २०:४६