एउटै वडामा मन्दिरका १६ योजनामा बजेट विनियोजन

हुम्ला   शिक्षा र स्वास्थ्यलाई बेवास्ता गर्दै स्थानीय तहले मठमन्दिरमा बजेट विनियोजन गरिरहेका छन् । हुम्लाको खार्पुनाथ गाउँपालिका–२ वडा कार्यालयले मन्दिरका १६ योजनामा बजेट विनियोजन गरेको छ ।  वडा कार्यालयले आर्थिक वर्ष ०७६÷७७ का लागि यहाँका सातवटा मन्दिरमा बजेट विनियोजन गरेको हो । जसमा १६ वटा योजना रहेको वडा कार्यालयले जनाएको छ । वडाको २६ लाख बजेटमध्ये १० लाख मठमन्दिरका लागि विनियोजन गरिएको वडा कार्यालयको तथ्यांक छ ।

यहाँका मन्दिरमध्ये पित्त, बाम्नी, मैठा, पारीगाउँ मैठा, सेराडिल मैठा र ल्हाँगामा एक–एक लाख र घरमाडुमा चार लाख बजेट विनियोजन गरिएको हो । त्यस्तै, भवनीथाना धर्मशालाका लागि तीन लाख विनियोजन गरिएको छ । गाउँका बाटोघाटो, विद्यालय र स्वास्थ्य संस्थामा चासो नदिएर मन्दिरमा बजेट खन्याएको स्थानीय गणेश रावलले गुनासो गरे । ‘जहाँ खर्च गर्नुपर्ने हो त्यहाँ छैन, मन्दिरमा पैसा खन्याइएको छ,’ रावलले भने ।

स्थानीय बासिन्दाले मन्दिरमै माग गरेकाले बजेट विनियोजन गरिएको खार्पुनाथ गाउँपालिका–२ का वडाध्यक्ष कर्ण रावलको भनाइ छ । मन्दिर हेरेर एकदेखि चार लाखसम्म बजेट विनियोजन गरिएको उनले बताए । ‘गाउँवासीले मन्दिरमा बजेट हालाैँ भन्न थाले । म गरूँ, उनीहरूले नै भनेको मानेँ,’ वडाध्यक्ष रावले भने ।

अन्य केही विकास निर्माणका योजनामा पनि बजेट विनियोजन गरेको वडाध्यक्ष रावलको भनाइ छ । उनका अनुसार, तल्लावाडा ढल निकासका लागि दुई लाख ५० हजार, सेराडिलको विद्यालयको भवन निर्माण गर्न एक लाख ५० हजार र चोख्याबान्ना  हुँदै भातखाना बाटोमा चार लाख विनियोजन गरिएको छ । त्यस्तै, फलफूल खेतीका लागि एक लाख विनियोजन गरिएको उनले बताए ।