मनोरम मानसरोवर

मानसरोवर भन्नाले ‘मान’ र ‘सरोवर अर्थात् मानिस बस्ने र पानी जम्मा भएको समतल क्षेत्र हो । यही चीनको तिब्बतस्थित समतल क्षेत्रको यात्रा गर्ने याम प्रारम्भ भएको छ । प्राकृतिक रूपमा मनोरम सरोवरसँगै उत्तरमा अवस्थित कैलाश पर्वतले झन् हिन्दू र बौद्ध धर्मावलम्बीलाई आकर्षित गर्छ । समुद्री सतहदेखि चार हजार पाँच सय ५९ मिटर उचाइमा अवस्थित छ, तीन सय २० वर्गकिलोमिटर क्षेत्रमा फैलिएको मानसरोवर । यसकै उत्तरमा उभिएको कैलाश पर्वत ६ हजार ६ सय ३८ मिटर अग्लो छ । यसलाई हिन्दू, बुद्ध र जैन धर्मावलम्बीले पवित्र स्थलका रूपमा लिने गरेका छन् ।

प्राकृतिक सौन्दर्यको आनन्द लिने त मानसरोवको यात्रा गर्छन् नै, धार्मिक आस्थाको केन्द्रका रूपमा लिने तीर्थयात्री पनि हरेक वर्ष मानसरोवर कैलाश यात्रामा निस्किन्छन् । यो तीर्थाटनले पाप पखालिन्छ भन्ने जनविश्वास छ । कतिसम्म भने एकपटक मानसरोवर कैलाश तीर्थाटन गर्दा सात जुनीमा गरिएको पाप पनि पखालिन्छ भन्ने धार्मिक विश्वास छ । ‘मध्यराति माता पार्वती तारारूपी प्रकाशको भेषमा मानसरोवरमा स्नान गर्न आउने गर्छिन् भन्ने गरिन्छ,’ नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामा भन्छन् । यसको उत्पत्तिसँग जोडिएको अर्को कथन छ, ब्रह्माजीले भगीरथको तपस्याबाट खुसी भई मानसरोवरको सृष्टि गरेका हुन् ।

यो क्षेत्र हुम्ला, बझाङ र दार्चुलालगायतका जिल्लासँग जोडिएको छ । यहाँको यात्रा पनि यही क्षेत्र भएर सहज हुन्छ । अझ हुम्लाबाट त नजिक पनि पर्छ । कतिपय यात्रु यही क्षेत्र भएर मानसरोवर कैलाश यात्रामा जाने गरेका छन् । यतिवेला त हुम्लामा मानसरोवर कैलाशयात्रीको घुइँचो लाग्न थालेको पनि छ ।

केही वर्षअघिसम्म १० हजारसम्म यात्रुले यो बाटो भएर मानसरोवर यात्रा गर्दै आएका थिए । ०७४ मा १७ हजारले यात्रा गरेका थिए भने गत वर्ष २७ हजार यात्रीले यो बाटो प्रयोग गरे । यो वर्ष पनि मानसरोवर यात्राको याम सुरु भएसँगै यात्रीको चाप बढेको छ । जेठ दोस्रो सातायता दुई हजार यात्री मानसरोवरतर्फ गएका छन् ।

प्राकृतिक रूपमा सुन्दर मानसरोवर धार्मिक रूपमा पनि उत्तिकै महत्वपूर्ण छ । हिन्दू, बौद्ध र जैन धर्मावलम्बीले पवित्र धार्मिक स्थलका रूपमा लिएको मानसरोवर कैलाश यात्रा सुरु भएको छ ।

यसले एकातिर नाम्खा गाउँपालिकालाई राजस्व संकलन गर्न सजिलो भएको छ भने अर्कातिर यहाँको कारोबार बढेको छ । गाउँपालिकाले विदेशी यात्रीबाट एक हजार एक सय शुल्क लिने गरेको छ ।

मानसरोवर यात्रीको आगमनले स्थानीय बासिन्दालाई रोजगारी पनि दिएको छ । उनीहरूका सरसामान बोक्ने गरेका छन् । त्यस्तै, हुम्लामा बसोवास गर्ने भएकाले होटेलहरू पनि भरिभराउ हुन थालेका छन् ।

यात्रा याम जेठ–कात्तिक
मानसरोवर कैलाश यात्राको उपयुक्त समय जेठदेखि कात्तिकसम्म हो । यो समयमा मौसम पनि ठीक हुन्छ । जसले गर्दा पैदल यात्राका लागि सहज हुने गरेको यात्रु बताउँछन् । यो यात्रा सातदेखि नौ दिनसम्मको हुने गर्छ ।

सातदेखि नौ दिनको यात्रा
मानसरोवर कैलाश यात्रा गर्न सातदेखि नौ दिनसम्म लाग्छ । नेपालगन्ज वा सुर्खेतबाट जहाजमा सिमकोट पुगिन्छ । त्यहाँबाट दुई दिनमै हिँडेर तिब्बतको सिमानाको हिल्सा पुगिन्छ भने सिमकोटबाट हेलिकोप्टरमा १५ मिनेटमै हिल्सा पुग्न सकिन्छ । हिल्साबाट गाडीमा एक दिनमै मानसरोवर पुगिन्छ । सामान्ययता ६० हजार रुपैयाँमा मानसरोवर यात्रा गर्न सकिन्छ ।

यसका लागि टुर कम्पनीहरूले प्याकेज पनि तयार गरेका छन् । यो प्याकेजमा नेपालगन्जदेखि ४५ मिनेट र सुर्खेतबाट ३५ मिनेटमा सिमकोट पुगिन्छ । सिमकोट विमानस्थलबाट हिल्सासम्म हेलिकोप्टरमै लान्छन्, जुन १५ मिनेटको हुन्छ । त्यहाँबाट मानसरोवरसम्मका लागि चीनकै सवारीसाधनको व्यवस्था गरेको हुन्छ । यो सबै प्याकेज प्रतिव्यक्ति तीन लाखसम्म लिने गर्छन् ।

के–के बोक्नुपर्छ ?
मानसरोवर कैलाशयात्रीले केही आवश्यक बन्दोबस्तीका सामान बोक्नुपर्ने टच कैलाश ट्राभल्सका क्षेत्रीय प्रबन्धक विष्णु रावत बताउँछन् । उनका अनुसार उच्च स्थानमा पर्ने भएकाले बाक्लो ज्याकेट, टोपी, पन्जा, मोजालगायतका कपडा बोक्नुपर्छ । हुम्ला र हिल्सामा खाना र बसोवासको राम्रो व्यवस्था छ । त्यसैले खानपिनको समस्या हुँदैन । अर्को बिर्सनै नहुने भिसा हो । काठमाडौंस्थित चिनियाँ राजदूतावासबाट अगाडि नै भिसा लिनुपर्छ ।  Naya  Patrika