सुर्खेत ।
यो सुर्खेतको इत्राम वडा नं ८ स्थित महिला प्रशिक्षण तालिम केन्द हो । यहाँ २०७१ मा आएको बाढीले घरबार र परिवारविहीन बनाएका पीडितहरु बस्छन् । यहाँ २५ ओटा त्रिपालका टहरा छन् । त्रिपालहरु आधा च्यातिएका छन् ।
आज तिहारको अन्तिम दिन अर्थात भाइटिका । उत्तम भनिएको समय आउन केही घण्टामात्र बाँकी छ । बजारमा झिलिमिली छ । दाजु भाई तथा दिदीविहीनको हसिला अनुहार बाटोभरी । कोही दिदीवहिनीको घर जाँदैछन् त कोही दाजु भाईको घरमा आउँदैछन् । उत्तम साइतमै टिका लगाउने उनीहरुको योजना छन् । बजारको चहलपहलले त्रिपालमुनीको जीवनलाई छोएको छैन । उनीहरुमा कुनै उत्साह छैन । बरु निरासा थपिएको छ । उनीहरु त्रिपालभित्रै रुदै छन् ।
यो वर्षपनि सुर्खेतका बाढी पीडितको तिहार खल्लो भएको छ । उनीहरु त्रिपालभित्रै दुःख साटेर तिहार मनाइरहेका छन् । रातभर च्यातिएका त्रिपालभित्रको चिसोले उनीहरुलाई बोल्ने जागर नै छैन ।
तिहारमा दाजुभाईलाई टिका लगाउने र दिदिवहिनीलाई दक्षिणा दिने, मिठो खाने र दिदीवहिनी दाजुभाईसँगै बसेर रमाइलो गर्ने रहर भएपनि बाढी पीडितहरुमा तिहारको कुनै चहलपहल देखिदैन । कसैको चुलोमा नयाँ पाकेको छैन । न शरीरमा नयाँ लुगा नै बदलिएको छ ।
इत्राम ८ की लक्ष्मी दमाईको त्रिपाल घाम पानीले च्यातिएको छ । उनले त्रिपाल बदल्न पनि सकेकी छैनन् । च्यातिएको त्रिपालभित्र रात कटाउन सारै कठिन हुने बताएकी छन । पहिलो वर्ष केही सहयोग गरेपनि पछिल्ला दिनहरुमा सहयोग गर्ने कुनै नआएकाले उनले बताइन् । तिहारको कुरा गर्ने विबित्तकै उनका आँखाबाट आँसुका धारा आए ।
‘बाहिर झिलीमिली छ । घरमा रोटीहरु बनाएर खाएका छन् । देउसी भैलो खेलेका छन् । हामीहरु त्रिपालमा भोकै जीवन बिताएका छौ । चार्डपर्व आउँदा पीडा महशुस हुन्छ’ लक्ष्मीले रुदै भनिन् ।
सुर्खेत इत्राम ८ की मैसरा थापाले सरकारले बाढीपिडीतका लागि १० लाख दिने भन्ने सुनेपनि आफूहरुले नपाएको बताइन् । उनले १० लाख होइन तिहारमा एक हजार दिएपनि खुशी हुने बताइन् भन्दै आफूहरुको लागि तिहार नआएको बताइन । आफूहरुलाई महिला प्रशिक्षण तालिम केन्द्रका कर्मचारीहरुले पटक पटक जाउ भन्ने गरेको उनले बताइन ।
‘अरुलाई तिहार आएको छ, हामीलाई भोक र डर आएको छ’ आँसु झर्दै थापाले भनिन् । पुनःस्थापना भएर दशैं तिहार मनाउन रहर भएको उनले बताइन ।
इत्राम ८ की झुपु नेपालीले भने बिहानबाटै उनको चुलोमा आगो पनि बालेकी छैनन् । हात भाचिएका श्रीमानले तिहार खर्चका लागि ज्याला मजदुरी गरेर कमाएर ल्याएको २ हजार ५५ रुपैयाँ चोरी हुँदा बिहानबाटै उनको चुलोमा आगो नबलेको हो । उनले रुँदै भनिन् ‘तिहारमा एक छाक भएपनि खाउँला र छोराछोरीलाई टिका लगाई दिउला भनेर हात भाचिएका श्रीमान् काम गरेर ल्याएको कुन पापीले चोरेछ । अब पकाउन आगो बाल्नु रु ।’
पीडाका बीचपनि त्रिपालको जीवन बिताइरहेका दिदीवहिनीले दाजुभाईको निधारको खाली नगराउन टपरीमै टिका लगाउने तयारी गरिरहेका छन् ।
२०७२ सालको दशैमा लेखिएको समाचार हो ।
नरजन तामाङ । १९ बैशाख २०७६, बिहीबार २१:०३