हुम्लामा नौ जनाको मृत्यु भएपछि चिकित्सकको टोली र औषधी पुग्यो

               हुम्लाको ताँजाकोट गाउँपालिका–२ जिमाना गाउँ जहाँ तीन सातादेखि महामारी फैलिएको छ

हुम्लाको ताजाकोट गाउँपालिकामा फैलिएको रुघाखोकीको प्रकोपले नौ जनाको मृत्यु भएपछि हेलिकोप्टरमा चिकित्सक टोली गाउँ पुगेको छ ।

रुघाखोकीबाट दुई सय भन्दा बढी बिरामी छन् । सेनाको हेलिकोप्टरमा प्रदेश स्वास्थ्य निर्देशनालयबाट डा. तेजराज भट्टराई, हेल्थ असिस्टेन्ट बलभद्र यादव, ल्याव असिस्टेन्ट धर्म अधिकारीसहितको टोली आवश्यक औषधी र नमूना संकलन गर्ने आवश्यक समाग्रीहरु सहित प्रभावित स्थलमा आइतबार पुगेको छ ।

प्रभावित क्षेत्र सदरमुकामबाट चार दिन टाढा पैदल हिँडेर पुग्न सकिने भएकाले प्रमुख जिल्ला अधिकारी धोलकराज ढकाल र कर्णाली प्रदेशका सामाजिक विकसमन्त्री दल रावलले हेलिकोप्टरका लागि गृहमन्त्रालयमा पहल गरेका थिए ।

कर्णाली प्रदेश स्वास्थ्य महाशाखाका प्रमुख वृषबहादुर शाहीले सुर्खेतबाट हेलिकोप्टरमा डाक्टर औषधी पठाइसकेको बताए । उनले थप औषधि पठाइने समेत जानकारी दिए । मुगुको रातापानीबाट डा. नन्द तिमिल्सेनाको टोली समेत रोग प्रभावित क्षेत्र ताजाकोट पठाइएको शाहीले जनाए ।